‘सेल्फि किङ’को छायाँकनमा प्राबिधिक घाइते


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

हाल छायाँकनमा रहेको चलचित्र ‘सेल्फि किङ’को छायाँकनका क्रममा स्कुटर दुर्घटना सहायक प्रोडक्सन म्यानेजन बिदुर मानन्धर घाइते भएका छन् । छायाँकन स्थल थानकोटमा मानन्धरले चलाएको बा ६१ प ६३६६ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो । सडकमा भएको खाण्डोमा परेर दुर्घटना भएको हो । घाइते मानन्धरको खुट्टामा गम्भिर चोट लागेको छ । दाइने खुट्टाको घुडामा चोट लाग्दा उनको हड्डी फुट्न पुगेको छ ।

घट्ना लगत्तै मानन्धरलाई ट्रमा सेन्टरमा उपचार गराईएको छ । डाक्टरले अप्रेसन गरेर फुटेको हड्डीलाई बाध्नुपर्ने जनाएपछि आउने मंगलबार उनको अप्रेसन गर्ने तयारी भइरहेको छ । अप्रेसन पछि मानन्धरले कम्तिमा ७ हप्ता बेड रेष्ट गर्नुपर्नेछ । निर्माण पक्षले छायाँकनको क्रममा मानन्धरको दुर्घटना भएका कारण उपचार खर्च आफुले बेहोर्ने जनाएको छ ।

दशैं लगत्तै दोस्रो सेड्युलको छायाँकन थालेको चलचित्रको यतिबेला राजधानीका बिभिन्न स्थानमा छायाँकन जारी छ । दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको चलचित्र ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको हो । ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।

चलचित्रको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, गीता अधिकारी, राजेश बिसुराल, अमितेश शाहलगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।