बनेपाको सिनेपा स्टुडियो निर्माणमा जुटे बोर्ड अध्यक्षदेखि सञ्चारमन्त्रीसम्म


बोर्ड अध्यक्ष पण्डितका अनुसार सुरुमा डीपीआर तयार गरी निर्माण कार्य अघि बढाइएको जग्गामा मुद्दा परेका कारण अब त्यसभन्दा फरक जग्गामा स्टुडियो निर्माण गर्नुपर्ने भएको छ। अहिले हेरिएको जग्गामा ठूलो डाँडा रहेकाले स्टुडियो निर्माणका लागि त्यहाँबाट करिब एक लाख घनमिटर माटो हटाउनुपर्ने अवस्था इन्जिनियरहरूले देखाएका छन्।

————————————————————————

ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ मंसिर

स्थानीयले मुद्दा दायर गरेपछि विगत एक वर्षदेखि निर्माण प्रक्रिया रोकिएको काभ्रेको बनेपामा प्रस्तावित इनडोर चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ निर्माणलाई अब चलचित्र विकास बोर्डले अघि बढाउने भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले सो क्षेत्रमा स्टुडियो निर्माणका लागि आफूहरू अघि बढिसकेको बताएका छन्।

बोर्डमा नयाँ अध्यक्षका रूपमा पण्डित नियुक्त भएपछि यतिबेला सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पनि स्टुडियो निर्माण हुनुपर्ने भन्दै सक्रियता देखाएका छन्। बोर्ड अध्यक्ष पण्डितका अनुसार बोर्डको मुख्य योजनामा रहेको स्टुडियो चाँडो निर्माण गर्न मन्त्री तिमिल्सिनाले विशेष चासो देखाएका छन्।

कसरी सुरु भयो स्टुडियो निर्माणको प्रक्रिया ?

यो स्टुडियो निर्माण प्रक्रिया भुवन केसी बोर्ड अध्यक्ष हुँदादेखि सुरु भएको हो। त्यसबेला बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा स्टुडियो निर्माणका लागि जग्गाको रेकी गर्ने काम सुरु भएको थियो। त्यतिबेला उनले त्यहाँ जग्गा हेरेका थिए। सो जग्गामा स्टुडियो निर्माणका लागि वन मन्त्रालयदेखि स्थानीयसँग अनुमति लिने काम तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सक्रियतामा बोर्ड अध्यक्ष दयाराम दाहालले गरेका थिए।

शिलान्यासपछि परेको थियो मुद्दा

यसै क्रममा आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा इनडोर छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरी बजेटसमेत छुट्याइएको थियो। सोही परियोजनाअन्तर्गत २०८२ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्टुडियोको शिलान्यास गर्दै यसको नाम ‘सिनेपा’ स्टुडियो राखेका थिए।

शिलान्यासपछि तत्कालीन अध्यक्ष निदेश डिसीले निर्माणका लागि ठेक्कासमेत लगाएका थिए। तर, स्टुडियो निर्माणस्थल सामुदायिक वन क्षेत्रमा पर्ने र त्यहाँ रहेका केही रूख कटान गर्नुपर्ने विषयलाई लिएर स्थानीयले मुद्दा दायर गरेपछि निर्माण कार्य रोकिएको थियो। सो मुद्दाका कारण विगत डेढ वर्षदेखि यसको निर्माण कार्य अघि बढ्न सकेको छैन। त्यहाँ केही व्यक्तिले मुद्दा दायर गरे पनि त्यस क्षेत्रका स्थानीय निकायदेखि बहुसङ्ख्यक बासिन्दा स्टुडियो निर्माण हुनुपर्ने पक्षमा रहेका छन्।

मन्त्री तिमिल्सिनाले गरे निर्माणस्थलको भ्रमण

यसै क्रममा प्रस्तावित स्टुडियो निर्माणस्थलको मन्त्री तिमिल्सिनासहित आफू र प्राविधिक टोलीले निरीक्षण गरेको अध्यक्ष पण्डितले बताएका छन्। सो भ्रमणका क्रममा स्टुडियो निर्माणका लागि हालसम्म भएका काम र देखिएका चुनौतीबारे मन्त्रीलाई जानकारी गराइएको पनि उनले बताए।

सो क्रममा मन्त्री तिमिल्सिनाले स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै राष्ट्रिय महत्त्वको आयोजना थप ढिलाइ नगरी अघि बढाउन निर्देशन दिएका छन्। मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माणको काम थाल्ने लक्ष्यसहित सरकार अघि बढेको जानकारी दिए।

स्थानीय एक–दुई व्यक्तिको विरोधले राष्ट्रिय महत्त्वको परियोजना रोक्न नहुने मन्त्री तिमिल्सिनाको भनाइ छ। सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्ने क्रममा पनि यस्तै विरोध भएको र त्यसलाई अघि बढाउँदा अहिले सडक फराकिलो बनाउन सम्भव भएको उदाहरण दिँदै उनले स्टुडियो निर्माणका विषयमा स्थानीयको असहमति र सरोकार सम्बोधन गरेर अघि बढ्ने बताए। केही व्यक्तिको असहमतिका कारण राष्ट्रिय महत्त्वका परियोजना अनिश्चितकालसम्म रोक्न नहुने उनको भनाइ छ।

चलचित्र स्टुडियो निर्माणलाई भौतिक संरचनामा मात्र सीमित नराखी स्थानीय रोजगारी, पर्यटन, व्यवसाय र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने मन्त्री तिमिल्सिनाले बताए। उनले स्टुडियो सञ्चालनमा आएपछि चलचित्रकर्मी, कलाकार, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र त्यसले होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तारमा सहयोग पुग्ने धारणा राखे। केही स्थानीयलाई रोजगारीसमेत दिने बताउँदै उनले राष्ट्रिय स्तरको परियोजना निर्माणमा अवरोध नगर्न स्थानीयलाई सुझाव दिए।

यसै विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले ब्युटी न्युज नेपालसँग भने, ‘इनडोर स्टुडियो निर्माण अपरिहार्य परियोजना भएकाले मन्त्रीज्यूसँगै हामीले तत्कालै त्यहाँ पुगेर निरीक्षण गर्नुका साथै अब कसरी निर्माण गर्ने भन्ने विषयमा अध्ययनसमेत गरेका हौँ। करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको स्टुडियोको प्रारम्भिक डिजाइनअनुसार संरचना निर्माणमा स्थानीयले अवरोध गरेपछि डिजाइन परिवर्तन गर्नुपर्ने वा नपर्ने विषयमा बोर्डले अध्ययन थालेको छ। केही दिनमै यसको निष्कर्ष निकाल्नेछौँ।’

डाँडो खारेर माटो हटाउनुपर्ने इन्जिनियरको सुझाव

बोर्ड अध्यक्ष पण्डितका अनुसार सुरुमा डीपीआर तयार गरी निर्माण कार्य अघि बढाइएको जग्गामा मुद्दा परेका कारण अब त्यसभन्दा फरक जग्गामा स्टुडियो निर्माण गर्नुपर्ने भएको छ। अहिले हेरिएको जग्गामा ठूलो डाँडा रहेकाले स्टुडियो निर्माणका लागि त्यहाँबाट करिब एक लाख घनमिटर माटो हटाउनुपर्ने अवस्था इन्जिनियरहरूले देखाएका छन्। त्यसैकारण खर्चसमेत बढ्ने भएकाले यसलाई कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

यता मन्त्री तिमिल्सिनाले निरीक्षणका क्रममा ठूलो परिमाणमा माटो कटान गर्नुभन्दा डाँडाको सुन्दरता नबिगारी स्टुडियो निर्माण गर्दा प्राकृतिक सौन्दर्यमा समेत असर नपर्ने र वातावरण पनि नबिग्रने बताएका छन्। उनले सम्भव भएसम्म प्राकृतिक स्वरूप जोगाएर स्टुडियो निर्माण गर्ने विकल्प खोज्नुपर्ने सुझावसमेत दिएका छन्।

के–के हुन्छन् त इनडोर स्टुडियोमा ?

प्रस्तावित सिनेपा स्टुडियोको इनडोर क्षेत्रमा अस्पताल, प्रहरी चौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायाङ्कन गर्न मिल्ने स्थायी तथा पोर्टेबल सेट निर्माण गरिनेछ। त्यस्तै, आउटडोर क्षेत्रमा चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्ने योजना रहेको छ। त्यहाँबाट आसपासका रमणीय दृश्यसमेत देखिने र क्यामेरामा कैद गर्न मिल्ने भएकाले यस स्थानलाई स्टुडियो निर्माणका लागि छनोट गरिएको हो।