ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ मंसिर
क्यान्सरविरुद्धको सचेतना फैलाउँदै रोगसँग संघर्ष गरिरहेका तथा क्यान्सरलाई जितेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले आज शनिबार मध्यान्नबाट काठमाडौँमा ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज २०२६’ आयोजना गरिने भएको छ । चर्चित अभिनेता एवम् मोडल, कोरियोग्राफर प्रशान्त ताम्राकारले यो कार्यक्रम आयोजना गर्दैछन् । क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने लक्ष्यसहित एन्ट फाउन्डेसनले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको प्रशान्तले ब्युटी न्युज नेपाललाई बताएका छन् ।
प्रशान्तका अनुसार ‘लेट्स वाक टुगेदर फर क्यान्सर अवेयरनेस’ भन्ने मूल नारासहित हुन लागेको कार्यक्रमको छैटौँ संस्करण गर्न लागिएको हो । आज मंसिर १२ गते अर्थात नोभेम्बर २८ मध्यान्नबाट काठमाडौंको नन्दिकेश्वर बगैँचा (नारायण चौर) मा यो कार्यक्रम सुरु हुनेछ । सुरुमा लाईभ म्युजिकसँगै विभिन्न खानाको परिकारको स्वाद लिन सकिने छ ।
एन्ट फाउन्डेसनको आयोजनामा हुने यस कार्यक्रममा दिउँसो २ :३० बजेदेखि क्यान्सर सचेतनाबारे सामुहिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिँदैछ । यो कार्यक्रममा दिउँसो ३ बजे काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललाई उद्घाटन गर्नेछिन् । कार्यक्रमबारे उद्घाटन समारोहमा कार्यवाहक मेयर सुनिता र आयोजकले थप प्रकाश पार्ने छन् ।

कार्यक्रममा दिउँसो ३ः३० बजेबाट क्यान्सर जितेकाहरुले र्याम्पमा क्याटवाक गर्ने छन् । त्यसपछि ४ बजे एनएसएन कलेक्टिक क्याटवाक र ५ बजे मोडल क्याटवाक रहेको छ ।
यस्तै ५ः३० बजे पेजेन्ट क्याटवाक, ६ बजे ब्युटिसियन क्याटवाक, ६ः२०मा फेसन स्कुलको तर्फबाट क्याटवाक, ६४५ मा कन्ट्रिबुटर्स क्याटवाक र अन्त्यमा बेलुका ७ बजे आम सर्वसाधारणको लागि क्यान्सरबारे सचेतना जगाउन क्याटवाक राखिएको पनि प्रशान्तले बताएका छन् । उनको अनुसार कार्यक्रममा प्रवेश निशुल्क राखिएको छ । र्याम्पमा उत्रिएर फेशन क्याटवाक गर्न चाहनेका लागि जम्मा १००० रुपैयाँ मात्र सुरु राखिएको छ । यस फेसन शोमा आफुसँग भएको फेशनमा क्याटवाक गर्न सकिने पनि प्रशान्तले बताएका छन् ।
एन्ट फाउन्डेसनका अध्यक्ष प्रशान्त ताम्राकारले क्यान्सर सचेतना कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताए। उनले अभियानमा सबै क्षेत्र, समुदाय र उमेर समूहका व्यक्तिलाई सहभागी हुन आह्वान गरेका छन् ।








