ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ मंसिर
क्यान्सरविरुद्धको सचेतना फैलाउँदै रोगसँग संघर्ष गरिरहेका तथा क्यान्सरलाई जितेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज २०२६’ आयोजना हुने भएको छ। क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने लक्ष्यसहित एन्ट फाउन्डेसनले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो।
‘लेट्स वाक टुगेदर फर क्यान्सर अवेयरनेस’ भन्ने मूल नारासहित हुन लागेको कार्यक्रमको छैटौँ संस्करण आगामी मंसिर १२ गते (नोभेम्बर २८) शनिबार काठमाडौंको नन्दिकेश्वर बगैँचा (नारायण चौर) मा हुनेछ। दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललाई उद्घाटनका लागि आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा एन्ट फाउन्डेसनका अध्यक्ष प्रशान्त ताम्राकारले क्यान्सर सचेतना कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताए। उनले अभियानमा सबै क्षेत्र, समुदाय र उमेर समूहका व्यक्तिलाई सहभागी हुन आह्वान गरे।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘ग्राण्ड सोलिडारिटी वाक’ अर्थात् बृहत् ऐक्यबद्धता पदयात्रा आयोजना गरिनेछ। यसमा क्यान्सरलाई जितेका व्यक्ति, चिकित्सक, कलाकार, सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारण एकैसाथ सहभागी हुनेछन्। एक हजार रुपैयाँ योगदान गरेर पदयात्रामा सहभागी हुन सकिने व्यवस्था गरिएको छ। इच्छुकले ‘खल्ती बाइ आईएमई’ एपमार्फत नाम दर्ता गर्न सक्नेछन्।
कार्यक्रममा प्यानल छलफल, थिमेटिक फेसन रनवे, सांगीतिक प्रस्तुति तथा स्थानीय उत्पादन र व्यवसायका स्टलसमेत रहनेछन्। फेसनलाई मनोरञ्जन र सौन्दर्य प्रदर्शनमा मात्र सीमित नराखी सामाजिक सचेतना र ऐक्यबद्धताको माध्यम बनाउने उद्देश्यले विशेष फेसन प्रस्तुति गर्न लागिएको आयोजकले जनाएको छ। मुख्य कार्यक्रम सबैका लागि खुला र निःशुल्क रहनेछ।
यसअघि अभियानअन्तर्गत साइकल र मोटरसाइकल र्याली आयोजना भइसकेका छन्। मंसिर ५ गते सम्पन्न ‘पेडल फर प्रिभेन्सन’ साइकल र्यालीमा ४५० भन्दा बढी साइकल यात्री सहभागी भएका थिए। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरेको र्याली काठमाडौं हुँदै पाटन दरबार स्क्वायरसम्म पुगेको थियो। त्यस्तै, भक्तपुर र कीर्तिपुर क्षेत्र समेटिएको मोटरसाइकल र्यालीमा ७० भन्दा बढी बाइकर सहभागी भएका थिए।
यसैगरी, मंसिर ८ गते ‘रन फर रेजिलियन्स’ नामक सचेतनामूलक दौड आयोजना गरिनेछ। नन्दिकेश्वर बगैँचाबाट सुरु हुने दौड नक्साल हुँदै वसन्तपुर दरबार स्क्वायर पुगेर पुनः फर्किनेछ। यसमा ३०० भन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।
सन् २०२१ मा स्थापना भएको एन्ट फाउन्डेसनले स्वास्थ्य, शिक्षा, वातावरण तथा सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ। यसअघि पाँच संस्करण सम्पन्न गरिसकेको ‘नो सेभ नोभेम्बर’ अभियानले सयौँ मोडल, कलाकार, सार्वजनिक व्यक्तित्व र सर्वसाधारणलाई जोड्दै आएको छ।
‘वाक फर होप, स्ट्यान्ड फर करेज, मेक अ डिफरेन्स’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस अभियानले क्यान्सरको समयमै पहिचान, रोकथाम र उपचारबारे जनचेतना बढाउनुका साथै प्रभावित व्यक्ति तथा परिवारलाई सामाजिक साथ र सहयोग जुटाउने अपेक्षा गरिएको छ।








