ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ
चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त रहेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहसचिव रविलाल शर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शर्माले अध्यक्ष नियुक्त नभएसम्म बोर्डको कामकाज सम्हाल्नेछन्।
मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालका अनुसार शर्माले बुधबारदेखि बोर्डको कार्यभार सम्हालेका छन्। अध्यक्ष नियुक्त नभएसम्म बोर्डको प्रशासनिक तथा नियमित काम अघि बढाउने जिम्मेवारी शर्मालाई दिइएको हो।
‘अध्यक्ष नियुक्त नभएसम्म उहाँले बोर्डको कामकाज हेर्ने गरी जिम्मेवारी पाउनुभएको हो,’ पौड्यालले बताए।
मन्त्रालयले चलचित्र विकास बोर्डको स्थायी अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको छ। अध्यक्ष पद खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सचिव बाहिर रहेकाले पछिल्लो समय अध्यक्ष नियुक्तिको प्रक्रिया केही ढिला भएको हो। बाढी तथा अन्य कारणले समेत प्रक्रिया प्रभावित भएको जनाउँदै मन्त्रालयले अब भने चाँडै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउने जनाएको छ।
यसअघि बोर्डका अध्यक्ष दिनेश डीसीको कार्यकाल ११ भदौमा सकिएपछि अध्यक्ष पद रिक्त भएको थियो। उनको कार्यकाल समाप्त भएपछि बोर्डको नेतृत्वमा तत्कालका लागि कार्यवाहक व्यवस्था गरिएको हो।
नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले चलचित्र क्षेत्रको नियमन, प्रवद्र्धन तथा चलचित्रकर्मीसम्बन्धी विभिन्न कामलाई थप गति दिने अपेक्षा गरिएको छ। खुला प्रतिस्पर्धाबाट अध्यक्ष छनोट हुने भएकाले अब मन्त्रालयले नियुक्ति प्रक्रिया कसरी अघि बढाउँछ भन्नेमा चलचित्र क्षेत्रको चासो बढेको छ।






