ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० साउन
सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटकको मञ्चन श्रावण २९ गतेदेखि सुरु भएको हो।
मञ्चनको पहिलो दुई दिनका चारवटै शो तीन दिनअघि नै हाउसफुल भएका थिए। यस्तै, आगामी दिनका शोका लागि पनि दर्शकको अग्रिम बुकिङ उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ।
यसअघि कान्तिपुर थिएटरमा मञ्चन भएको ‘सेतो धरती’ले १०१ शो पूरा गर्दै नेपाली रंगमञ्चमा उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसपछि ‘समर लभ’लाई दर्शकमाझ ल्याइएको हो।
‘समर लभ’को अर्को आकर्षण अभिनेता अर्पण थापा हुन्। नेपाली चलचित्रमा स्थापित थापाले यही नाटकमार्फत पहिलो पटक रंगमञ्चमा अभिनय गरेका छन्। नाटकमा सागर खनाल, वास्ना तिमिल्सिना, विनिता गिरि, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईंलगायत कलाकारको अभिनय छ।
कान्तिपुर थिएटर चलचित्र, साहित्य र रंगमञ्चबीचको सेतुका रूपमा समेत स्थापित हुँदै गएको छ। अर्पण थापासहित रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमाल, शनिशा भट्टराई र मनोज गजुरेललगायत कलाकारले पनि यही थिएटरमार्फत रंगमञ्चमा प्रवेश गरेका थिए। यसले चलचित्रका चर्चित कलाकारलाई रंगमञ्चतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

कान्तिपुर फिल्म एकेडेमीको थिएटर प्रोडक्सनका रूपमा तयार भएको ‘समर लभ’ बुधबारबाहेक हरेक दिन दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे मञ्चन हुँदैछ। करिब १ घण्टा ५० मिनेट लामो नाटकको टिकट कान्तिपुर थिएटरको वेबसाइटमार्फत अनलाइन बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ।
यसैबीच, कान्तिपुर थिएटरको चर्चित नाटक ‘सेतो धरती’लाई विराटनगर, पोखरा र चितवनमा समेत मञ्चन गर्ने तयारी भइरहेको छ। काठमाडौंमा ‘समर लभ’ र मोफसलमा ‘सेतो धरती’को मञ्चनमार्फत नेपाली रंगमञ्चको पहुँच अझ विस्तार गर्ने लक्ष्य कान्तिपुर थिएटरले लिएको छ।



