ब्युटी न्युज नेपाल
काठमाडौं, १६ बैशाख
दीपकराज गिरी, दीपाश्री निरौलाले छक्का पञ्जा चलचित्रको सृँखलालाई एक वर्षका लागि रोकेर नयाँ चलचित्र ‘छ माया छपक्कै’को निर्माण सुरु गरेका छन् ।
उनीहरुले २०७६ सालको दशैंका लागि नयाँ चलचित्र रिलिज लक्ष्य सहित निर्माण घोषणा गरेका छन् । सोमबार काठमाडौंमा एक समारोहबीच चलचित्र ‘छ मायाँ छपक्कै’को निर्माण घोषणा गरियो ।
चलचित्र छ माया छपक्कैलाई पत्रकार दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । यस अघि ‘घामपानी’ र ‘गोपी’ सहित दुई फिल्मका निर्देशन गरिसकेका लामाको यो तेश्रो निर्देशन हुनेछ ।
यो चलचित्रमा छक्का पञ्जा सृँखलाकै मुख्य कलाकारहरु हुनेछन् । जसमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायत मुख्य भूमिकामा छन् । बाँकी कलाकारको चयन जारी रहेको र उनीहरुको नाम केही दिनमै घोषणा गरिने पनि निर्माण पक्षले बताएको छ ।
निर्देशक दीपेन्द्र लामाका अनुसार यो चलचित्रले ग्रामिण र शहरका पात्रको कथा भन्ने छ । गाउँको एउटा सोझो अधबैंसे पुरुष र शहरकी सम्पन्न युवती बीचको प्रेम सम्बन्धमा यो फिल्मको बिषयबस्तु केन्द्रित हुनेछ ।
छक्का पञ्जाकी निर्देशक दीपाश्री निरौला यसपटक छ मायाँ छपक्कैमा निर्देशन सल्लाहकारको रुपमा रहेकी छिन् ।
छ माया छपक्कै मार्फत यस पटक यो समुहमा निर्माताको रुपमा रोहित अधिकारी थपिएका छन् । अब छ माया छपक्कैलाई दीपक–दीपाको व्यानर आमा सरस्वती मुभिजसँगै रोहित अधिकारी फिल्मस् र आइएमईले सँयुक्त निर्माण गर्नेछ ।
छक्का पञ्जा सृँखलाका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे यो चलचित्रमा पनि कार्यकारी निर्माता नै रहेका छन् । आउँदो जेठको पहिलो साताबाट यो चलचित्रको छायाँकन सुरु गरिने भएको छ ।
यो चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, विपिन मल्लको सम्पादन, हरि हुमागाइँको छायाँकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक शर्माको संगीत रहने छ ।
निर्देशक लामाको कथा रहेको छ माया छपक्कैको पटकथा दीपकराजले लेखेका हुन् । जसमा संवाद दीपकसँगै जितु, केदार र अभिमन्यू निरबीको रहेको छ ।