ब्युटी न्युज नेपाल
काठमाडौं, २९ चैत
‘नयाँ वर्षलाई स्वागत तथा पुरानो वर्षलाई बिदाई’ नारासहित बक्स अफिस फिल्म क्बलले चलचित्र विकाश बोर्डको कार्यालयमा बिहिबार ‘बक्स अफिस अग्रज चलचित्र पत्रकारिता पुरस्कार–२०७५’ र ‘बक्स अफिस ब्लक बस्टर फिल्म अवार्ड–२०७५’ प्रदान गरेको छ ।
चलचित्र पत्रकारितामा दुई दशकभन्दा लामो योगदान दिएको भन्दै सो कार्यक्रममा राजधानी दैनिकका डब्बु क्षत्री, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी र इन्डिजिनियर टिभीकी पत्रकार सवि कार्कीलाई प्रदान ‘बक्स अफिस अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत गरियो ।
बक्स अफिस फिल्म क्बलले जनही ११ हजार १ सय ११ रुपैयाँसहित सो पुरस्कार प्रदान गरेको हो । आयोजक संस्थाका अध्यक्ष आर के सुवेदीले क्षत्री सहितको पत्रकारहरुको चलचित्र पत्रकारितामा लामो योगदान रहेकाले यो पुरस्कार प्रदान गरिएको बताए ।
सोही कार्यक्रममा यो वर्षका एक दर्जन ब्यबसायिक सफल फिल्मलाई ‘बक्स अफिस ब्लक बस्टर फिल्म अवार्ड–२०७५’ प्रदान गरियो । यो वर्ष ब्यबसायिक सफल भएको भनिएका चलचित्र छक्का पन्जा–३, जय भोले, लिली बिली, बोबी, नाइ नभन्नु ल–५, कायरा, इन्टुमिन्टु लन्डनमा, भैरे, रामकहानी, चंगाचेट, प्रसाद र क्याप्टेनलाई ब्लक बस्टर फिल्म अवार्ड २०७५ प्रदान गरिएको हो ।
यी चलचित्रले ब्यबसयिक सफलता हाँसिल गरेकाले ब्लक बस्टर बक्स अफिस अवार्ड प्रदान गरिएको आयोजक तथा पत्रकार आरके सुवेदीले बताए ।
नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्लेले महँगा बिदेशी सिनेमालाई अनियन्त्रित रुपमा कौडीको भाउमा नेपालमा भित्राएर नेपाली चलचित्र उधोगलाई नै धरासाई बनाउने कार्य भईरहेको बताए । यसका लागि बोर्डले बिदेशी सिनेमालाई नेपालमा कोटा प्रणालीबाट ल्याउनु पर्ने बताए ।
आयोजित कार्यक्रममा बोल्दै चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले निकै सस्तो मूल्यमा हप्तामा पाँच ओटासम्म बिदेशी सिनेमा नेपालमा ल्याई रिलिज गरिएको तर्फ बोर्डको ध्यान आकषर्ण भएको बताए । नेपाली सिनेमा उधोगलाई डुबाएर बिदेशी फिल्मको प्रोत्साहन गर्ने यो अभियानलाई नीतिबाटै नियन्त्रण गर्ने तयारी भईरहेको पनि उनले बताए ।