रिलिज चलचित्र
ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन
चलचित्र ‘बुलबुल’ शुक्रबारदेखि काठमाडौं उपत्यकाका सबै मल्टिप्लेक्स र सिँगल थिएटर सहित मुलुकका ९० भन्दा बढी सिनेमा हलबाट रिलिज भएको छ ।
स्वस्तिमा खड्काले टेम्पो चालकको मुख्य भूमिका निर्वाह गरेको यो फिल्मको निर्देशन बिनोद पौडेलले गरेका हुन् । बिनोद चलचित्र ‘साँघुरो’का लेखक एवम् ओस्कार कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल हुन । उनको पहिलो निर्देशनमा बनेको फिल्म बुलबुल हो ।
पौडेलका अनुसार फिल्मले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेको पनि उनले बताए । फिल्ममा यी दुई कलाकारसँगै मुकुन भुषाल, बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डेआदि कलाकारको अभिनय छ ।
फिल्ममा निर्वाह गरेको आफ्नो भूमिका बारे अभिनेत्री स्वस्तिमाले करिब दुई महिनासम्म विभिन्न महिला टेम्पो चालकहरुको सँगत गरेर यो भूमिका निर्वाह गरेको बताएकी छिन् । उनले आफु महिलाहरुको संघर्षको कथा भन्ने यो फिल्ममा रनकला खत्रीको भूमिकामा भएको जानकारी गराएकी छिन् ।
यही चलचित्रबाट मुकुन भुषालले डेब्यु गर्दैछन् । ओस्कार फिल्म कलेजबाट अभिनयमा स्नातक गरेरका मुकुनले यसमा आफुले दैनिक सँघर्षमा रहने एक युवा ‘चोपेन्द्र भुषाल’को भूमिका निर्वाह गरेको बताए । आफु यो फिल्ममा सेक्युरिटी गार्ड सहित फरक फरक भूमिकामा भएको पनि उनले खुलासा गरे ।
निर्माता अबिरल थापाले फिल्म भ्यालेन्टाइन डेको अवसरमा रिलिज शुक्रबारबाट रिलिज गरिएको बताएका छन् । फिल्ममा कोशिश क्षत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वरमा गीत छ ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले नै लेखेका हुन् । बुलबुललाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।