ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ मंसिर
अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’मार्फत महिलामाथि नेपाली समाजले राख्ने दृष्टिकोणविरुद्ध मौन विद्रोह गरेको बताएकी छन्। महिलाको सामाजिक अवस्था र उनीहरूप्रति समाजको धारणालाई प्रश्नका रूपमा प्रस्तुत गरिएको यस चलचित्रमा आफूले बोलेर नभई अभिनयमार्फत विद्रोह गरेको उनको भनाइ छ।
निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘सिन्दुरे जात्रा’ कथावस्तु र प्राविधिक पक्ष दुवै हिसाबले बलियो रहेको अञ्जनाले बताएकी छन्। चलचित्रको नामले नै आफूलाई आकर्षित गरेको र कथा पढेपछि समय मिलेको खण्डमा यसमा जोडिने निर्णय गरेको उनले जानकारी दिएकी छन्।
अञ्जनाका अनुसार ‘सिन्दुरे जात्रा’ महिलाको कथामा आधारित चलचित्र हो। नेपाली समाजले महिलालाई आजसम्म कसरी हेर्दै आएको छ भन्ने विषयलाई चलचित्रले उठाएको छ। यद्यपि, चलचित्रले कुनै पक्षको समर्थन वा विरोध गर्दै न्यायाधीश बन्ने प्रयास नगरेको उनले स्पष्ट पारेकी छन्।
“हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ। महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ,” अञ्जनाले भनेकी छन्। चलचित्रमा आफूले मौन विद्रोह गरेको उल्लेख गरे पनि त्यो विद्रोहको स्वरूपबारे भने उनले थप खुलाएकी छैनन्।

चलचित्रमा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन्। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन्। अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत छ।
मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई नेसनल सिने ग्रुप नेपालले वितरण गर्नेछ। बिग मुभिज थिएटर पार्टनर तथा ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।








