बक्स अफिस अनिवार्यदेखि चलचित्रकर्मीको सामाजिक सुरक्षासम्मका विषय समेटिने
ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ मंसिर
नेपाली चलचित्र क्षेत्रको विकास, व्यावसायिक पारदर्शिता र चलचित्रकर्मीको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित तयार पारिएको चलचित्र विधेयक, २०८१ माथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सैद्धान्तिक छलफल सुरु भएको छ। छलफलमा चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउने, बक्स अफिस प्रणाली प्रभावकारी कार्यान्वयन गर्ने, चलचित्रकर्मीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने र नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुपर्ने विषयले प्राथमिकता पाएका छन्।
सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गरी समयानुकूल नयाँ कानुन ल्याउन यो विधेयक अघि बढाएको हो। चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सांस्कृतिक, सिर्जनशील तथा आर्थिक योगदान दिने उद्योगका रूपमा विकास गर्ने लक्ष्य विधेयकले राखेको छ।
समितिकी सभापति डा. ओजस्वी शेरचनले चलचित्र क्षेत्रका सरोकारवालासँग विस्तृत छलफल गरेर विधेयकलाई थप परिष्कृत बनाइने बताइन्। चलचित्रले नेपालको भाषा, संस्कृति, पहिचान र राष्ट्रिय हित प्रवर्द्धन गर्ने भएकाले यसको संरक्षण र विकासका लागि आवश्यक कानुनी व्यवस्था गरिने उनको भनाइ थियो।
सांसद गणेश पौडेलले भाषा, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन चलचित्रको उपयोग गर्नुपर्ने बताए। त्यस्तै, डा. अच्युतम लामिछानेले चलचित्रकर्मीको पारिश्रमिक, सामाजिक सुरक्षा, बिमा तथा कार्यस्थलमा हुने शारीरिक र मानसिक हिंसासम्बन्धी विषय कानुनमा समेट्नुपर्ने धारणा राखे।
पुकार बमले चलचित्रलाई उद्योग र पर्यटनसँगै संस्कारका रूपमा पनि विकास गर्नुपर्ने बताए। प्रभा ढकालले बढ्दो चलचित्र पाइरेसी नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरिन्।
छलफलका क्रममा सांसद डा. लेखजङ्ग थापाले चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्ने बताए। उनले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सेन्सर प्रणालीको व्यवस्थित नियमन र चलचित्रकर्मीको सामाजिक सुरक्षालाई कानुनमा समेट्नुपर्ने धारणा राखे।
सांसद रमेशकुमार मल्लले चलचित्र र पर्यटन उद्योगलाई एकीकृत रूपमा विकास गर्न आवश्यक पूर्वाधार तथा कानुनी व्यवस्था गर्नुपर्ने बताए। डा. तोसिमा कार्कीले नेपाली चलचित्रले सहज रूपमा प्रदर्शनको अवसर पाउनुपर्ने र स्वदेशी चलचित्रको बजार तथा विदेशी चलचित्रको प्रभावबारे अध्ययन गर्नुपर्नेमा जोड दिइन्।
विधेयकमा चलचित्र विकास बोर्डको स्वायत्तता र नियमनकारी भूमिका सुदृढ गर्ने, निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बक्स अफिस प्रणाली अनिवार्य बनाउने प्रस्ताव गरिएको छ। बक्स अफिसमार्फत टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि तथा दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने लक्ष्य राखिएको छ। यसैगरी, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजातिका कलात्मक तथा बौद्धिक सिर्जनाको संरक्षण, चलचित्रकर्मीको श्रम अधिकार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई पनि विधेयकमा समेटिएको छ।
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा सहयोग पुर्याउने विषयसमेत विधेयकका महत्वपूर्ण पक्ष हुन्। नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति २०७३ र राष्ट्रिय चलचित्र नीति २०७१ लाई आधार मानेर तयार गरिएको यो विधेयक पारित भई कार्यान्वयनमा आएमा नेपाली चलचित्र क्षेत्रको निर्माण, वितरण र प्रदर्शन प्रणाली व्यवस्थित हुनुका साथै आर्थिक कारोबारमा पारदर्शिता र चलचित्रकर्मीको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने छ।








