ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ मंसिर
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि दुवै देशबीच शिक्षा, स्वास्थ्य, सुरक्षा, प्रविधि र विकासलगायतका विषयमा समझदारी भएको हो।
समझदारीअनुसार भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुनेछ। त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सुरक्षा तथा प्रहरी प्रशिक्षणका क्षेत्रमा सहकार्य गरिनेछ।
नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ।
त्यसैगरी, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीको विकास र विस्तारमा दुवै देशले सहकार्य गर्ने भएका छन्। अन्तरिक्ष प्रविधितर्फ दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्ने विषयमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सम्बन्धित मन्त्रालयबीच समझदारी भएको छ।
यसैगरी, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा सेवा र पशुपालन तथा मत्स्यपालन विकासका क्षेत्रमा पनि सहकार्य गर्ने सहमति भएको छ।
स्वास्थ्य क्षेत्रमा भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी भएको छ। यसरी यी आठ समझदारीले नेपाल–भारतबीच शैक्षिक, प्राविधिक, संस्थागत तथा विकास साझेदारीलाई थप टेवा पुग्ने आशा गरौँ ।








