ब्युटी न्युज नेपाल
नयाँ दिल्ली, ७ मंसिर
भारतले नेपालको पुनर्निर्माण, विपद् प्रभावित क्षेत्रको पुनरुत्थान तथा दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विशेष सहायता प्याकेज घोषणा गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि उक्त सहायता घोषणा गरेका हुन्।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता भएको थियो। वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण र विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहायता प्याकेज घोषणा गरेका हुन्।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मुलुकबीचको औपचारिकतामा मात्र सीमित नरहेको उल्लेख गर्दै आपसी आत्मीयता र अटुट विश्वासमा आधारित रहेको बताए।
‘आज नेपालको पुनर्निर्माण र नयाँ विकासलाई थप मजबुती दिन म २ खर्ब ४० अर्ब नेपाली रुपैयाँको विकास सहायता प्याकेज घोषणा गर्दछु। विपद् प्रभावितको जीवन पुनः लयमा फर्कियोस्, नयाँ अवसर सिर्जना होस् र नेपालको क्षमता अभिवृद्धि होस् भन्ने हाम्रो चाहना छ,’ मोदीले भने।
उक्त सहायता प्याकेज गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा केन्द्रित रहने बताइएको छ। विशेषगरी भोटेकोशीलगायतका क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना, राहत तथा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संयुक्त पत्रकार सम्मेलनअघि हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो।
सोही अवसरमा दुवै प्रधानमन्त्रीले दार्चुलास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलसहित पाँचवटा विकास परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहलाई आइतबार बिहान नयाँदिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको थियो। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्तासमेत गरेका छन्।
भारतको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।








