ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ असोज
राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न भएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्समा आयोजित अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा भएको प्रतियोगिताका लागि एक महिनाअघि आवेदन खुला गरिएको थियो। अडिसनबाट २५ जना प्रतिस्पर्धी छनोट गरिनेछ। छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
अडिसनको निर्णायक मण्डलमा मिस नेपाल २००० उषा खड्गी, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई तथा सिआईएफटीकी प्रमुख सुचिता सची रहेका थिए। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ।
सिआईएफटीकी प्रमुख सुचिता सचीका अनुसार प्रतियोगितामा बाह्य सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली र सामाजिक चेतनालाई पनि महत्त्व दिइनेछ।
“प्रतियोगिताको उद्देश्य बाह्य सौन्दर्यलाई मात्र आधार बनाएर विजेता छनोट गर्नु होइन। व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनालगायतका पक्षलाई पनि मूल्यांकन गरिनेछ,” सचीले बताइन्।
आयोजकका अनुसार एउटै राष्ट्रिय मञ्चबाट तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली प्रतिनिधि छनोट गरिनेछ। यसअन्तर्गत ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य प्रतिस्पर्धी छनोट गरिनेछ।
‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ की विजेताले अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०२६ को अन्त्यतिर भारतमा आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।









