प्रदर्शनको तयारीमा ‘आ बाट आमा २’, सार्वजनिक भयो ‘रातो टीका लाउँदा क्या दामी देखियो’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असोज

दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को नयाँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले चलचित्रको प्रचारप्रसारलाई तीव्रता दिने क्रममा बिहीबार गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो।

दशैंको उल्लास, टीका–जमरा र पारिवारिक तथा सामाजिक माहोललाई केन्द्रमा राखिएको गीतको भिडियोमा चलचित्रका कलाकारहरूलाई सामूहिक रूपमा रमाइलो गर्दै नाचिरहेको देख्न सकिन्छ। भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्यलगायतका कलाकार प्रस्तुत छन्।

सामूहिक विवाहको परिवेशमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेता सबिन श्रेष्ठलाई लाहुरेको भूमिकामा देखाइएको छ। दशैंको सांस्कृतिक माहोल, रंगीन पहिरन र कलाकारहरूको सामूहिक नृत्यले गीतलाई थप आकर्षक बनाएको छ। गीतको नृत्य निर्देशन गम्भीर बिष्टले गरेका हुन्। दशैंको पारिवारिक वातावरण र उत्सवको भावलाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायतका कलाकारको अभिनय छ।

चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ। दशैंको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको ‘आ बाट आमा २’ले नयाँ गीतमार्फत दर्शकमाझ चलचित्रको पारिवारिक तथा मनोरञ्जनात्मक पक्षलाई थप उजागर गरेको छ।