९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ असोज

सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’को छायांकन ९० दिनमा सम्पन्न भएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायांकन नेपालका विभिन्न स्थानदेखि भारतको राजस्थानसम्म गरिएको निर्माण टिमले जनाएको छ ।

चलचित्रका दृश्यहरू सर्लाही, दाप्चा, काठमाडौँ र भक्तपुरसँगै भारतको राजस्थानमा छायांकन गरिएको हो । कथावस्तु र दृश्यको आवश्यकताअनुसार निर्धारित समयभन्दा केही बढी समय लगाएर छायांकन पूरा गरिएको निर्माण पक्षले जनाएको छ ।

कलाकार तथा प्राविधिकको निरन्तर मेहनत र सहकार्यबाट छायांकन सम्पन्न भएको भन्दै निर्माण टिमले अब चलचित्रको पोस्ट–प्रोडक्सनलाई प्राथमिकतामा राखेको जनाएको छ । चलचित्रलाई दर्शकमाझ उत्कृष्ट रूपमा प्रस्तुत गर्ने उद्देश्यले निर्माणको हरेक चरणमा गुणस्तरलाई विशेष ध्यान दिइएको निर्माण पक्षको भनाइ छ ।

अस्त्र फिल्मसको ब्यानरमा निर्माण भएको ‘जुबा’की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे रहेका छन् । चलचित्रको कथा तथा निर्देशन प्रकाश कर्णले गरेका छन् भने पटकथा तथा लेखन वर्षा पौडेलको रहेको छ ।

चलचित्रमा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले ‘जुबा’बाट अभिनय यात्रा सुरु गर्दैछिन् । सुधनको यो तेस्रो चलचित्र हो भने मुख्य भूमिकामा रहेको यो उनको पहिलो चलचित्र हो । उनले अभिनय गरेका यसअघिका दुई चलचित्र भने प्रदर्शनमा आउन बाँकी छन् ।

‘जुबा’ निर्माणको घोषणा गर्ने क्रममा तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा सौगातको फरक लुक्स, पीसीओबाट फोनमा कुराकानी गरिरहेको दृश्य तथा सिगारसहित सुधनको गेटअप सार्वजनिक गरिएको थियो । सुधनको लुक्सले चलचित्रमा उनको चरित्र खलपात्रतर्फ केन्द्रित हुन सक्ने संकेत गरेको छ ।

कलाकारको पहिरन, गेटअप र दृश्य परिवेशले चलचित्रको कथा करिब दुई दशकअघिको समयसँग सम्बन्धित हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि, चलचित्रको कथावस्तुबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

‘जुबा’को प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । पोस्ट–प्रोडक्सनको काम अघि बढेसँगै उपयुक्त प्रदर्शन मिति तय गरी छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।