ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिन्दूर’मा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह जोडिएका छन्। चलचित्रको छायांकन दाङमा भइरहेको निर्माण पक्षले जनाएको छ। चलचित्रको प्रारम्भिक चरणमा पुष्प खड्का र प्रशंसा रायमाझीको मुख्य भूमिकाका लागि नाम सार्वजनिक गरिएको थियो। अब विपिन र निरुताको प्रवेशसँगै चलचित्रको कलाकार टोली थप बलियो बनेको छ।
निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैँपछि छायांकनमा सहभागी हुनेछन्। दुवै कलाकारले निर्वाह गर्ने भूमिकाबारे भने निर्माण पक्षले जानकारी सार्वजनिक गरेको छैन।
कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा सञ्जिव सार्कीको लगानी छ। दिनेश सिंह महरा कार्यकारी निर्माता रहेका छन्।
चलचित्रको कथा सामाजिक विषयवस्तुमा आधारित रहेको निर्देशक सुनारले बताएका छन्। विशेषगरी एक महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएका सामाजिक तथा भावनात्मक पक्षलाई कथाको केन्द्रमा राखिएको उनको भनाइ छ। चलचित्रको छायांकनका लागि एक महिनाको सेड्युल तय गरिएको छ।
संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। प्रकाश हमाल निर्माण प्रमुख तथा करणबहादुर साउद मुख्य सहायक निर्देशक छन्। रामजी लामिछानेले नृत्य निर्देशन गर्नेछन्।
त्यस्तै, रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजर, एनबी महर्जन एक्सन निर्देशक तथा मदन सुरखेती सह–लेखकका रूपमा छन्। चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म तय गरिएको छैन।








