ब्युटी न्युज नेपाल
काठमाडौँ, २० असोज
बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ प्रदर्शनको तयारीमा रहँदा सम्पादक साहिल खान अन्तिम सम्पादनमा व्यस्त छन्। चलचित्रको टिजर र पहिलो गीत ‘अचेल किन कान्छी’ले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पार गरिसकेका छन्। दर्शकमाझ राम्रो चर्चा बटुलेको चलचित्रलाई दृश्यात्मक रूपमा प्रभावकारी बनाउन सम्पादनमा विशेष ध्यान दिइएको साहिलले बताएका छन्।
चन्द्र पन्तको निर्देशन तथा पल शाह र मलिका महतको मुख्य अभिनय रहेको चलचित्र आगामी असोज ३० गते बडादशैँको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। चलचित्रको दृश्य संयोजनमार्फत कथा, भावना र घटनाक्रमलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको साहिलको भनाइ छ।
साहिलका अनुसार टिजर तथा ट्रेलर सम्पादन पूर्ण चलचित्र सम्पादनभन्दा फरक र बढी सिर्जनात्मक प्रक्रिया हो। सीमित समयभित्र चलचित्रका प्रभावशाली दृश्य छनोट गरेर दर्शकमा कौतुहलता जगाउनुपर्ने भएकाले यसमा सम्पादकको व्यक्तिगत सिर्जनशीलताको भूमिका महत्वपूर्ण हुन्छ।
“टिजर–ट्रेलर काट्दा आफ्नो व्यक्तिगत क्रिएटिभिटी प्रयोग गर्न पाइन्छ। सीमित समयभित्र फिल्मका उत्कृष्ट दृश्य छानेर दर्शकको ध्यान तान्ने र कौतुहलता जगाउने गरी दृश्य भाषा निर्माण गर्न सकिन्छ,” उनले भने।
साहिलले हालसम्म करिब २० वटा फिचर फिल्मको पूर्ण सम्पादन गरिसकेका छन् भने ४५० भन्दा बढी टिजर तथा ट्रेलर सम्पादन गरेका छन्। ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’ र ‘आउटल’ हुँदै उनी अहिले ‘आ बाट आमा २’को सम्पादनमा जुटेका हुन्।
पूर्ण चलचित्र सम्पादनमा भने स्क्रिप्टको मर्म, निर्देशकको दृष्टिकोण, कथाको गति र दर्शकको मनोविज्ञानलाई सन्तुलनमा राख्नुपर्ने साहिल बताउँछन्। उनका अनुसार हरेक दृश्यको प्रभाव, भावनाको निरन्तरता र कथाको प्रवाह कायम राख्न निर्देशक तथा लेखकसँग निरन्तर छलफल र समन्वय आवश्यक हुन्छ।
“फिल्म सम्पादन गर्न लामो समय लाग्छ। स्क्रिप्टको मर्म समात्दै निर्देशकको भिजनसँग तालमेल मिलाउनुपर्छ। दर्शकको आँखा कतै नबिझाउने गरी दृश्यको प्रवाह मिलाउनुपर्ने भएकाले यो अनुशासित र जिम्मेवार काम हो,” साहिलले बताए।
पहिलो भाग ‘आ बाट आमा’को सम्पादनसमेत साहिलले नै गरेका थिए। उक्त चलचित्रले बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको बताइएको छ। अहिले दोस्रो भागको सम्पादनमा रहेका साहिलले स्क्रिप्ट, भावना र दृश्य प्रवाहबीच सन्तुलन कायम गर्ने प्रयास गरिएको जनाएका छन्। निर्माण टोलीले पनि उनको दृश्य संयोजनले चलचित्रको प्राविधिक तथा भावनात्मक पक्षलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।








