ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज
मोडलिङ हुँदै अभिनय र संगीतसम्म आफ्नो सिर्जनात्मक दायरा विस्तार गरिरहेका जीवन विश्वकर्मा पछिल्लो समय फरक शैलीका प्रस्तुतिमार्फत दर्शकमाझ चिनिन थालेका छन्। र्याम्पबाट सुरु भएको उनको यात्रा अहिले म्युजिक भिडियो, फेसन र अभिनय हुँदै चलचित्रसम्म पुग्ने तयारीमा छ।
हाउस अफ फेसन नेपालबाट मोडलिङमा प्रवेश गरेका जीवनले सुरुवाती दिनमै रनवे तथा फेसनसम्बन्धी गतिविधिमा आफूलाई सक्रिय बनाएका थिए। मेन्टर वासिम मलिकको मार्गदर्शनबाट व्यक्तित्व विकास र मोडलिङप्रति थप प्रेरित भएको उनी बताउँछन्। यही यात्राका क्रममा उनले ‘मेनहन्ट इन्टरनेसनल नेपाल २०२५’मा ‘मिस्टर फ्रेन्डसिप’ र ‘मिस्टर ट्यालेन्ट’को उपाधि हात पारे।
म्युजिक भिडियोमा भने जीवनको प्रवेश करिब १२ वर्षअघि भएको हो। उमेश गुरुङको निर्देशनमा बनेको ‘दसैँ आयो…’ गीतको भिडियोबाट उनले मोडलिङ सुरु गरेका थिए। दसैँको परिवेशमा तयार पारिएको उक्त गीत अहिले पनि दसैँ पर्वका अवसरमा सुनिने गीतमध्येमा पर्छ।
म्युजिक भिडियोको यात्रामा उनले विभिन्न शैली र कथावस्तुमा काम गर्ने अवसर पाएका छन्। ‘टलक्कै टल्कियो…’, ‘तिमी मरेर गए पनि…’, ‘चाहे माया गर…’, ‘म सँगै…’, ‘तिम्रो परेलीमा…’, ‘परदेशी आउ है…’, ‘प्यारो गाउँ…’, ‘हाम्रो गाउँ…’ लगायतका गीतका भिडियोमा उनको अभिनय तथा मोडलिङ देख्न सकिन्छ।

मोडलिङमा मात्र सीमित नरही जीवनले गायनतर्फ पनि आफ्नो रुचि प्रस्तुत गरेका छन्। उनको पछिल्लो काम ‘ह्याभ यु एभर सिन…’ वेस्टर्न शैलीको कभर गीत हो। गीतमा उनले स्वर दिएका छन् भने आफ्नै आधिकारिक ‘काउब्वाय केटिएम’ च्यानलमार्फत सार्वजनिक गरेका छन्। उक्त गीत पाँचौँ ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’को म्युजिक भिडियो विधामा प्रतिस्पर्धामा समेत रहेको छ।
यसैगरी जीवनले ‘मुटुभित्र तिम्रो माया…’ र ‘आई एम स्टिल हियर फर यू…’ जस्ता गीतका भिडियोमा पनि अभिनय गरेका छन्। यी दुवै भिडियो चाँडै सार्वजनिक हुने उनले बताएका छन्।
एक दशकभन्दा लामो समयदेखि मोडलिङ र म्युजिक भिडियोमा सक्रिय जीवनले विभिन्न संघसंस्थाबाट सम्मानसमेत प्राप्त गरिसकेका छन्। बाल्यकालदेखिको मोडल बन्ने चाहना पूरा गर्दै अघि बढिरहेका उनी अब अभिनयलाई पनि आफ्नो करिअरको महत्वपूर्ण पाटो बनाउने योजनामा छन्।
यसअघि सर्ट फिल्म ‘अर्थक्वीक’मा अभिनय गरिसकेका जीवन अब ठूलो पर्दाका लागि आफूलाई तयार गरिरहेका छन्। कला, फेसन, संगीत र अभिनयलाई एउटै यात्रामा जोडेर अघि बढ्ने लक्ष्यसहित उनी नयाँ अवसरको खोजीमा छन्। निरन्तर सिक्दै र नयाँ प्रयोग गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने प्रयासमा रहेको जीवन बताउँछन्।






