ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ असोज
छोरीको भविष्य सुखद होस् भन्ने चाहनामा अपरिचित धनी परिवारका युवासँग विवाह गराएपछि उत्पन्न हुने पारिवारिक उतारचढावलाई कथावस्तु बनाइएको चलचित्र ‘अक्षरा’को प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसार तीव्र पारिएको छ।
आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारस्वरूप आइतबार कीर्तिपुरबाट साइकल र्याली आयोजना गरिएको थियो। चलचित्रको टि–सर्ट लगाएका २ सय ५० भन्दा बढी साइकल यात्री कीर्तिपुरबाट कपनस्थित क्लब मण्डलासम्म पुगेका थिए।
निर्देशक विनयराज पौडेलका अनुसार चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ यसको जानकारी पुर्याउने उद्देश्यले र्याली आयोजना गरिएको हो। कार्यक्रममा अभिनेत्री न्यान्सी खड्का, अभिनेता पुष्कर राउतसहित निर्माता तथा निर्माण पक्षको उपस्थिति थियो।
युनिभर्सल सर्टिफिकेट प्राप्त ‘अक्षरा’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने निर्माण पक्षले जनाएको छ। २ घण्टा १४ मिनेट लामो चलचित्रले छोरीले सुख पाउने अपेक्षामा नचिनेको धनी परिवारका युवासँग विवाह गरिदिएपछि परिवारमा आइपर्ने समस्या, सम्बन्धको जटिलता र त्यसबाट उत्पन्न परिस्थितिलाई प्रस्तुत गर्ने बताइएको छ।

चलचित्रमा न्यान्सी खड्कासँगै सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्कालगायतको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन्।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको चलचित्रलाई दीपेन बस्न्यातले छायांकन गरेका हुन् भने गौतम खड्काले सम्पादन गरेका छन्। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले चलचित्रको नेपालभर वितरणको जिम्मेवारी लिएका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।






