चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ असोज

जेकेएस इन्टरटेनमेन्टले नयाँ चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण गर्ने घोषणा गरेको छ । निर्माण पक्षले चलचित्रको शीर्षकसँगै प्रमुख निर्माण टिमको नाम सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो ।

‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्…’ भन्ने स्लोगनसहित घोषणा गरिएको चलचित्रको लेखन तथा निर्देशन मार्टिन भण्डारी र डार्विन श्रेष्ठले गर्नेछन् । चलचित्रमा अमन श्रेष्ठ सह–लेखक तथा क्रिएटिभ डाइरेक्टरका रूपमा जोडिएका छन् ।

चलचित्रको निर्माता अमन श्रेष्ठ र डार्विन श्रेष्ठ रहेका छन् भने मार्टिन भण्डारी सह–निर्माताका रूपमा रहेका छन् ।

निर्माण पक्षले चलचित्रको टाइटल घोषणा पनि केही फरक शैलीमा गरेको छ । विशेष भिडियो सार्वजनिक गर्दै गरिएको घोषणामा प्रयोग गरिएको शब्द, प्रस्तुति र दृश्यशैलीले चलचित्रप्रति कौतुहलता सिर्जना गर्ने प्रयास गरिएको देखिन्छ । सामान्य चलचित्रका टाइटल घोषणाभन्दा फरक ढंगले तयार गरिएको उक्त भिडियोमार्फत फिल्मको विषयवस्तुबारे तत्काल धेरै जानकारी नदिई दर्शकमा उत्सुकता बढाउने शैली अपनाइएको छ ।

चलचित्रमा कलाकारका रूपमा को–को रहनेछन् भन्ने विषय भने निर्माण पक्षले खुलाएको छैन । त्यस्तै, चलचित्रको कथा तथा विषयवस्तु, छायांकन सुरु हुने समय र प्रदर्शन मितिबारे पनि थप जानकारी सार्वजनिक हुन बाँकी छ ।

निर्माण पक्षले आगामी चरणमा चलचित्रका कलाकार, कथा, छायांकन तथा प्रदर्शनसम्बन्धी विवरण क्रमशः सार्वजनिक गर्ने जनाएको छ ।