ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असोज
चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको दोस्रो शनिबार हलमा दर्शकको उत्साहजनक साथ पाएको छ । शनिबार बिहानैदेखि चलचित्रका अधिकांश शोमा दर्शकको चाप बढेको छ भने दिउँसो साढे १२ बजेसम्म ७४ मध्ये ५४ शो हाउसफूल भइसकेका छन् ।
बाँकी शोका टिकटसमेत तीव्र गतिमा बिक्री भइरहेको निर्माता वसन्त लम्सालले जानकारी दिए । अग्रिम बुकिङमै धेरै शोका टिकट सकिएपछि दर्शकको मागअनुसार विभिन्न हलले अतिरिक्त शो थप्न थालेका छन् ।

निर्माता लम्सालका अनुसार काठमाडौँ, भक्तपुर, पोखरा र चितवनका केही हलमा दर्शकको मागअनुसार शो थपिएको छ । उनले भने, “अग्रिम बुकिङमै टिकट सकिएपछि मध्याह्नपछि पनि हलहरूले शो थपिरहेका छन् । दर्शकको साथले हामी उत्साहित छौँ ।”
गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । त्यसपछि क्रमशः दर्शकको संख्या बढ्दै गएसँगै चलचित्रको व्यापारमा पनि सुधार आएको निर्माण पक्षले जनाएको छ । शुक्रबारसम्म चलचित्रले १ करोड ३० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ ।
‘बाः एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि अभिभावकले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ । सन्तानका इच्छा र आवश्यकताका लागि आमाबाबुले गर्ने संघर्षदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र पीडासम्मका विषय चलचित्रमा प्रस्तुत गरिएको छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन् ।






