१२ गाउँ २ को आयोज नयाँ गीत लालीगुराँस


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असोज

प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ २’को नयाँ गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीलाई प्रेमिल भावमा नृत्य गर्दै देखाइएको छ।

शुक्रबार सार्वजनिक गीतमा शिव परियार र सारोही कुमारको स्वर रहेको छ। गीतमा युग भुसालको शब्द तथा संगीत छ। प्रेम, समर्पण र मायालु सम्बन्धलाई प्रकृतिसँग जोडेर प्रस्तुत गरिएको गीतमा प्रेममा परेका युवा–युवतीका भावना, चाहना र एकअर्काप्रतिको आकर्षणलाई अभिव्यक्त गरिएको छ।

गीतको भिडियोमा समीर र कृशुको जोडीलाई केन्द्रमा राखिएको छ। उनीहरूको प्रेमिल हाउभाउ र नृत्यले गीतको भावलाई थप प्रभावकारी बनाएको छ। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

विराज भट्टको निर्देशनमा तयार भएको ‘१२ गाउँ २’ आगामी असोज ३० गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा समीर र कृशुसहित विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय छ।

यसै चलचित्रमार्फत कृशु शाही र वर्षा इटनीले नेपाली चलचित्रमा डेब्यु गरेका छन्। बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन्।

महेश पौडेलको छायांकन रहेको चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन तथा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन छ। चलचित्रमा सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। ‘१२ गाउँ २’को वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।