‘बाटुलो जून’को टिजर सार्वजनिक, अनमोल बनेका छन भुवन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ असोज

अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रको प्रचार अभियानलाई अघि बढाउने क्रममा पहिलो प्रचार सामग्रीका रूपमा टिजर सार्वजनिक गरेको हो ।

टिजरमा चलचित्रको कथा र परिवेशलाई पूर्ण रूपमा खुलाइएको छैन । बरु पात्र, समय र कथाको भावनात्मक पक्षलाई संकेत गर्ने दृश्य समेट्दै दर्शकमा कौतूहलता बढाउने प्रयास गरिएको छ । चलचित्रको कथावस्तुबारे धेरै कुरा नखुलाइएको भए पनि टिजरले यसको प्रेमकथात्मक परिवेशको झलक भने प्रस्तुत गर्छ ।

‘बाटुलो जून’ ३० को दशकको सामाजिक परिवेशमा आधारित प्रेमकथामा निर्माण भएको चलचित्र हो । प्रविधिको विकाससँगै प्रेमको शैली र सामाजिक सम्बन्धमा आएको परिवर्तनभन्दा फरक, तत्कालीन समयको प्रेम, जीवनशैली र सामाजिक अवस्थालाई चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । आदर्श प्रेमलाई केन्द्रमा राखिएको चलचित्रले पुरानो समयको प्रेमको संवेदना र अनुभूतिलाई नयाँ पुस्तासामु पुर्‍याउने प्रयास गरेको छ ।

चलचित्रको निर्देशन भुवन केसीले गरेका हुन् । यसअघि ‘ड्रिम्स’मार्फत प्रेमकथालाई निर्देशन गरेका केसीले यसपटक भने नेपाली समाजको पुरानो समयतर्फ फर्किएर कथा प्रस्तुत गरेका छन् । चलचित्रलाई आफ्नो अभिनय यात्रासँग समेत जोडिएको कथा भन्दै उनले आफूले पर्दामा प्रस्तुत गरेका पुराना समयका प्रेमकथाको संवेदनालाई नयाँ पुस्ताका लागि पुनः सिर्जना गर्ने प्रयास गरेको बताएका छन् ।

चलचित्रमा अनमोल केसीसँगै भुवन केसीको पनि महत्वपूर्ण भूमिका रहेको छ । प्रिन्सी खतिवडाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी छन् भने बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यसै चलचित्रमार्फत नेपाली पर्दामा पुनरागमन गरेकी छन् ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन् । जिया केसी र भविष्य खड्काले निर्माण गरेको चलचित्रका सह–निर्माता विवेक थापा हुन् । ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।