ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असोज
प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुको संयुक्त सांगीतिक प्रस्तुतिसँगै ‘सुरताल म्युजिकल टुर २०८३’ सुरु भएको छ। सातै प्रदेशका विभिन्न सहरमा आयोजना हुने सांगीतिक यात्राको पहिलो कार्यक्रम तेह्रथुमको म्याग्लुङमा सम्पन्न भएको हो।
म्याग्लुङमा आयोजित कार्यक्रममा तीनै कलाकारले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ तथा देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे।
प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका ब्यान्ड र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डको लाइभ प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए। आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए।
सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको यो सांगीतिक यात्रा सातै प्रदेशका १३ सहरमा सञ्चालन हुनेछ। तेह्रथुमपछि असोज १७ गते संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट आयोजना हुनेछ।
त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम हुनेछ। नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा र धरानलगायतका सहरमा पनि कन्सर्ट आयोजना हुने आयोजकले जनाएको छ।
स्थानीय आयोजक तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सञ्चालन भइरहेको ‘सुरताल म्युजिकल टुर’मा तीनै कलाकारले आ–आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिनेछन्। प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुलाई एउटै सांगीतिक यात्रामा सहभागी गराई सातै प्रदेशका विभिन्न सहरमा कार्यक्रम आयोजना गरिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ।






