नेपालको प्रतिनिधित्व गर्दै खुसी बोहरा ‘मिस ग्लोबल २०२६’मा सहभागी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असोज

‘मिस ग्लोबल २०२६’मा नेपालको प्रतिनिधित्व गर्दै मोडल खुसी बोहरा थाइल्यान्ड पुगेकी छिन्। नेक्ट्स मोडल नेपालले गत २५ साउनमा काठमाडौँमा आयोजना गरेको ‘मोडल हन्ट नेपाल २०२६’मा खुसीले दोस्रो रनरअपको उपाधि जितेकी थिइन्।

उक्त प्रतियोगितामा प्राप्त उपाधिसँगै खुसीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन्। प्रतियोगितामा सहभागी हुन थाइल्यान्ड प्रस्थान गर्नुअघि उनलाई नेक्ट्स मोडल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रबी धमला तथा उनका बुबा–आमाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए।

मोडल हन्ट प्रतियोगिताबाट आफ्नो मोडलिङ यात्रालाई अघि बढाउँदै आएकी खुसीले अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दैछिन्। ‘मिस ग्लोबल २०२६’को ग्रान्ड फिनाले आगामी १० अक्टोबरमा थाइल्यान्डमा आयोजना हुँदैछ।

ग्रान्ड फिनालेमा खुसीले विभिन्न देशका प्रतियोगीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्दै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित आफू प्रतियोगितामा सहभागी भएको उनले बताएकी छिन्।