गोकर्णबाट सुरु भयो ‘कंगाल करोडपति’को छायांकन


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज

सामाजिक तथा पारिवारिक कथामा निर्माण हुन लागेको चलचित्र ‘कंगाल करोडपति’को छायांकन सुरु भएको छ। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्रको पहिलो चरणको छायांकन मंगलबार गोकर्णबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

निर्माण टोलीले काठमाडौँमा चार दिनसम्म छायांकन गर्ने तयारी गरेको छ। त्यसपछि चलचित्रको टोली चितवनतर्फ जानेछ। चलचित्रको सम्पूर्ण छायांकन करिब ३५ दिनभित्र पूरा गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।

प्रविण आचार्यको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकारको अभिनय रहनेछ।

सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता अनिल कुमार बुढाथोकी हुन्। अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सह–निर्माताका रूपमा रहेका छन्।

चलचित्रको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरको रहेको छ। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर तथा जीवन गौतम मुख्य सहनिर्देशकका रूपमा जोडिएका छन्।

चलचित्रमा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ। संगीत एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको रहनेछ। सरोज श्रेष्ठ निर्माण नियन्त्रक तथा सुदीप अधिकारी कला निर्देशकका रूपमा कार्यरत छन्।