ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज
कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा अभिनय क्षेत्रमा आफ्नो पहिचान बनाउन आरती बुढा निरन्तर सक्रिय छिन्। कला र अभिनयप्रतिको रुचिलाई पेसाका रूपमा अघि बढाउँदै उनले मोडलिङ, म्युजिक भिडियो, नाटक तथा चलचित्रमा आफ्नो उपस्थिति जनाउँदै आएकी छन्।

अनुशासन, लगनशीलता र निरन्तरको अभ्यासलाई आफ्नो कलाकारिता यात्राको आधार बनाएकी आरतीले कला घरमा थिएटर अभिनयका गुरु गोविन्द सुनारबाट अभिनय प्रशिक्षण लिएपछि औपचारिक रूपमा कलायात्रा सुरु गरेकी हुन्। अभिनयप्रतिको रुचि र मेहनतकै कारण उनी पछिल्लो समय मोडलिङ तथा अभिनयमा सक्रिय हुँदै गएकी छन्।

आरतीले सुदूरपश्चिमेली देउडा गीतका दर्जनौँ म्युजिक भिडियोमा अभिनय तथा मोडलिङ गरिसकेकी छन्। उनले ‘अछेता’ नाटकमा समेत अभिनय गरेकी छन्। नाटक तथा म्युजिक भिडियोमा गरेको अभिनयका लागि उनले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरिसकेकी छन्।

मोडलिङ र नाटकसँगै आरतीले नेपाली चलचित्रमा समेत अभिनय गर्दै आफ्नो कलाकारिता यात्रालाई थप फराकिलो बनाउँदै लगेकी छन्। दुर्गम भूगोल हुम्लाबाट आएर राजधानी केन्द्रित नेपाली कला क्षेत्रमा निरन्तर सक्रिय रहनु उनका लागि आफैँमा चुनौतीपूर्ण यात्रा हो।
आफ्नो प्रतिभा र अनुभवलाई निरन्तर निखार्दै अघि बढिरहेकी आरती आगामी दिनमा नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा थप सशक्त भूमिकामार्फत दर्शकमाझ पुग्ने लक्ष्यमा छिन्।




