ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज
अभिनेता कामेश्वर चौरासिया र अभिनेत्री लक्ष्मी बर्देवाको फरक गेटअपले चर्चामा आएको चलचित्र ‘परिवार’को टिजर सार्वजनिक गरिएको छ। चलचित्रमा कामेश्वर महिला र लक्ष्मी पुरुषको भूमिकामा प्रस्तुत भएपछि फिल्मप्रति दर्शकको चासो बढेको छ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक टिजरले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, पारिवारिक खटपट र त्यसबाट सिर्जित परिस्थितिलाई केन्द्रमा राखेको देखिन्छ। टिजरको सुरुवातमै कामेश्वर र लक्ष्मीबीचको विवादलाई प्रस्तुत गरिएको छ।
लक्ष्मीले आफू कामेश्वरको विश्वासमा परिवारको वास्ता नगरी भागेर आएको बताउँदा कामेश्वरले विलासी जीवन चाहिएको भए पीआरवालासँग जानुपर्ने भन्दै जवाफ फर्काउँछन्। उनीहरूको संवादबाट परिवारको स्वीकृतिविना विवाह गरेको संकेत पाइन्छ।
यस्तै, छोरीको भूमिकामा रहेकी पात्रले भगवानसँग आफ्ना बाबुआमा कहिल्यै झगडा नगर्ने वातावरण बनाइदिन आग्रह गरेको दृश्यले पारिवारिक सम्बन्धको अर्को पाटो देखाउँछ। त्यसपछि भने कथाले अप्रत्याशित मोड लिन्छ। सुतेर उठेपछि कामेश्वर र लक्ष्मीले आफ्नै शरीर छाम्दै आश्चर्य व्यक्त गरेको दृश्य टिजरको आकर्षण बनेको छ।
आफ्नो शरीरमा आएको परिवर्तनको रहस्य भने चलचित्र प्रदर्शनपछि मात्र खुल्नेछ। ‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारासहितको चलचित्र कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउनेछ।
मदन थापाको निर्देशन रहेको चलचित्र शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्को सहकार्यमा निर्माण भएको हो। चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।
प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको चलचित्रमा निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन छ। रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माता छन्। चलचित्रको टिजर म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।




