ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज
असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रमा समावेश नृत्यप्रधान गीत ‘अचेल किन कान्छी’को भिडियो सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा पल शाह, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकारलाई सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। सामूहिक विवाहको परिवेशमा तयार पारिएको भिडियोमा बेहुलाहरूलाई समेत नाच्दै गरेको दृश्यमा प्रस्तुत गरिएको छ। गीतको नृत्य निर्देशन गम्भीर विष्टले गरेका हुन्।
रवि ओड र गंगा सोनामको स्वर रहेको गीतमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले सामूहिक स्वर दिएका छन्। निर्माण पक्षका अनुसार गीतको भिडियो छायांकन हालै गरिएको हो। सार्वजनिक भएसँगै गीतको भिडियोले दर्शकको ध्यान आकर्षित गरिरहेको छ।

‘आ बाट आमा २’मा पल शाह र मलिका महत पहिलोपटक जोडीका रूपमा देखिँदैछन्। चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल र मलिकासँगै विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तको सहकार्य रहेको छ भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रको छायांकन नवराज उप्रेतीले गरेका छन्। बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।


