अभिनेता सबिन र अभिनेत्री अनुलाई पुत्रलाभ


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहको जीवनमा नयाँ खुसी थपिएको छ। लामो समयदेखि प्रेम तथा वैवाहिक सम्बन्धमा रहेका यो जोडी पहिलो सन्तानका रूपमा छोराको अभिभावक बनेको छ।

सविनले सामाजिक सञ्जालमार्फत आफूहरू अभिभावक बनेको खुसी सार्वजनिक गरेका हुन्। उनले नवजात छोराको हात समातेको तस्बिर सार्वजनिक गर्दै जीवनमा नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन्। करिब ७ वर्ष लामो प्रेम सम्बन्धपछि अनु र सबिनले विवाह गरेका हुन् । विवाह भएको एक वर्षमै यी दम्पत्तीले नयाँ सन्तानको रुपमा छोरा प्राप्त गरेका छन् ।

छोरा जन्मिएपछि सविनले पत्नी अनु शाहप्रति विशेष प्रेम र आभार व्यक्त गरेका छन्। उनले अनुले आफूलाई जीवनकै अमूल्य उपहार दिएको भन्दै खुसी साटेका छन्। छोराको जन्मसँगै सविन र अनु अब अभिभावकत्वको नयाँ यात्रामा प्रवेश गरेका छन्। दुवैले अघिल्लो वर्षको असोज महिनामा वैवाहिक जीवन सुरु गरेका थिए। विवाहपछि उनीहरू पहिलोपटक अभिभावक बनेका हुन्।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय सविन र अनुको सम्बन्धलाई दर्शक तथा शुभेच्छुकले चासोका साथ हेर्दै आएका छन्। उनीहरूको घरमा नयाँ सदस्यको आगमनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा शुभेच्छुक, कलाकार तथा चलचित्रकर्मीले बधाई र शुभकामना दिइरहेका छन्।