‘ए मेरो हजुर ५’को शुभमुहूर्त, अनमोल र सुहानाको जोडी तेस्रोपटक पर्दामा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ साउन

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । बंगलामुखी मन्दिरमा मुहूर्तको दृश्य खिचेसँगै निर्माण टोली छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गरेको निर्देशक थापाले जानकारी दिएकी छन् । बडीमालिकाजस्तो धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा सिनेमा छायांकन गर्न पाउनु गौरवको विषय भएको उनले बताएकी छन् ।

‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो,’ थापाले भनेकी छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिँदैछन् । अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा सँगै अभिनय गरेका थिए । दुवै चलचित्रमा उनीहरूको जोडीलाई दर्शकले रुचाएका थिए ।

सिनेमाका निर्माता सुनिलकुमार थापा हुन् । कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् । अनमोल र सुहानासँगै दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ ।

सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ भने संगीत संयोजन उदय राज पौडेलले गर्नेछन् । कास्टिङ डाइरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने कुमार सिलवाल प्रोडक्सन डिजाइनर हुन् ।

पोस्ट प्रोडक्सन प्रमुखमा साहिल खान, रङ संयोजनमा राजन मोक्तान र ध्वनि मिश्रणमा उत्तम न्यौपाने रहेका छन् । ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा, स्टाइलिस्ट तथा मेकअप–हेयरमा रोनिशा अधिकारी जोडिएका छन् । सिनेमाको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।

यसपटक भने झरना निर्देशनसँगै अभिनयमा पनि देखिने भएकी छन् । ‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा पुनः अभिनयमा फर्किन लागेकी हुन् । उनी पुरानै भूमिकामा देखिने हुन् वा नयाँ चरित्रमा भन्ने विषयमा निर्माण पक्षले केही खुलाएको छैन । यसले चलचित्रमा झरनाको भूमिकालाई लिएर दर्शकमाझ कौतुहलता बढाएको छ । ‘ए मेरो हजुर ५’ नेपाली नयाँ वर्ष २०८४ को अवसर पारेर देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।