‘भिडियोटेप’मा उपासना र कुन्दनको जोडी, भदौ ५ देखि छायांकन


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ साउन

एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हरर फिल्म ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा बन्न लागेको फिल्मको घोषणा गरिएको हो।

फिल्मको छायांकन आगामी भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु हुनेछ। निर्माण पक्षका अनुसार ३० दिनमा छायांकन सक्ने तयारी छ। फिल्ममा उपासना सिंह ठकुरी र नव–नायक कुन्दन मान शाक्य मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्। अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय रहनेछ।

निर्देशक उद्दिनले आफू सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको बताउँदै डेब्यू फिल्मका रूपमा यही जनरालाई रोजेको बताए। उनका अनुसार ‘भिडियोटेप’ काल्पनिक कथामा आधारित हुनेछ र कुनै वास्तविक घटनासँग सम्बन्धित छैन।

अभिनेत्री उपासनाले करिब एक वर्षदेखि फिल्मको विषयमा छलफल भइरहेको बताउँदै कथावस्तु मन परेकाले आफू उत्साहित रहेको धारणा राखिन्। नव–नायक कुन्दनले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको बताए।

यो चलचित्रका निर्माता नकिम उद्दीनले आफ्नो छोरा ओविद बाल्यकाल देखि नै हरर फिल्मको प्रेमी भएको र स्कले जीवनदेखि कलेजसम्म ओविदले धेरै वटा छोटा चलचित्र बनाएको स्मरण सुनाए । छोरालाइ म्यानेजमेन्ट पढाउँदा पनि चलचित्र निर्देशनमा लाग्दै सपना नत्यागेपछि चलचित्र निर्देशनमा अमेरिकामा पढाएर निर्देशकका रुपमा नेपाली चलचित्रमा ल्याएको बताए ।

करिब चार करोड रुपैयाँ बजेटमा निर्माण हुने फिल्ममा वशिष्ट प्रधानको छायांकन, महेश बरालको मुख्य सहायक निर्देशन र ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहनेछ। एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन आग्रह गरेका छन्।