‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिलाको भूमिकामा वर्षा राउत


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ साउन

अभिनेत्री वर्षा राउत अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’मा अनुबन्धित भएकी छिन् । निर्माण टिमले उनलाई हरिवंश आचार्यको श्रीमतीको रमिलाको भूमिकामा अनुबन्धि गरेको हो ।

यो चलचित्रमा वर्षाको ‘म मदनकृष्ण’मा हरिवंशको कान्छी श्रीमती रमिला पाठकको भुमिका निभाउने छिन् । हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्धित भइसकेको छ । अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको जोडी बनेर काम गर्नेछिन् । अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन् ।

“हामीले अरुणको जोडीको रुपमा वर्षा राउतलाई लिएका छौँ । निर्माण टिमले वर्षालाई अरुणको जोडीमा साइन गराउँदा उहाँले हरिवंश आचार्यको रमिलाको भूमिका निर्वाह गर्नुहुनेछ,” निर्देशक मिलन चाम्सले भने ।

हरिवंशको जोडीको रुपमा वर्षाले काम गर्दा यही टिमले यसपछि बनाउने हरिवंशको बायोपिकमा पनि वर्षा नै यो भूमिकामा रहनेछिन् । किनकी अरुणले हरिवंशको बायोपिकमा मुख्य भूमिकामा साइन गरिसकेका छन् ।

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।

म मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।