बिष्णु माया पौडेलको स्वरमा ‘दुई सय तोला सुन’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ साउन

तीज पर्वलाई लक्षित गर्दै गायिका विष्णु माया पौडेलको नयाँ तीज गीत ‘दुई सय तोला सुन’ सार्वजनिक गरिएको छ। आधुनिक तीजको परिवेश, मनोरञ्जन र आकर्षक प्रस्तुति समेटिएको गीत शुक्रबारदेखि विष्णु माया पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो।

गीतको भिडियो बत्तीसपुतलीस्थित द ग्रिल नेसनमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार डब्बु क्षेत्री, समाजसेवी मेघनाथ भुर्तेललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। भिडियोको औपचारिक उद्घाटन समाजसेवी भुर्तेलले गरेका थिए।

आरबी केसीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माया पौडेलको स्वर रहेको छ। भिडियोमा अस्मिता जुरेली, आरती बुढा र स्वयं पौडेलको नृत्य प्रस्तुत गरिएको छ। रामकुमार केसीको छायांकन, दिपेश एसकेको कोरियोग्राफी तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो गोकर्णेश्वर नगरपालिकाको शहीद स्मारक पार्क र काठमाडौंको एक बैंक्वेटमा छायांकन गरिएको हो।

‘स्कुटर भने स्कुटर पाउँछु, कार चाहियो भने कार पनि पाउँछु… दुई सय तोला सुन ल्याउँछु’ भन्ने रोचक हरफबाट सुरु हुने गीतले आधुनिक समाजको तीज संस्कृतिलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। युट्युबसँगै विभिन्न अडियो प्लेटफर्ममा पनि सार्वजनिक गरिएको गीतलाई हेर्न, सुन्न, सेयर गर्न तथा टिकटक भिडियो बनाउन गायिका पौडेलले दर्शक–श्रोतासँग आग्रह गरेकी छन्।