देविका बन्दनाको तीज गीत ‘रातो सारी झल्कियो बरिलै’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ साउन।

वरिष्ठ गायिका देविका बन्दनाको नयाँ तीज गीत ‘रातो सारी झल्कियो बरिलै’ सार्वजनिक भएको छ। मौलिक तीज संस्कृतिलाई आधुनिक प्रस्तुतिसँग जोड्ने प्रयास गरिएको गीतमा देविका बन्दनासँगै शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ।

उषा शेरचनको शब्द, नरहरि प्रेमी उपाध्यायको संगीत तथा राकेश सोनीको संगीत संयोजन रहेको गीत अकुस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका छन्।

गीतको भिडियोमा वरिष्ठ कलाकार बसुन्धरा भुसाल, पहिलो नेपाली रंगीन चलचित्र कुमारीकी नायिका चैत्य देवी तथा कलाकार सुनिता कुँवरको अभिनय देख्न सकिन्छ। गायिका मञ्जु पौडेल, अनिता यादवलगायतका कलाकारको अभिनय र नृत्यले भिडियोलाई थप आकर्षक बनाएको छ। भिडियोमा तीजको सांस्कृतिक परिवेशसँगै त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ, जसले कथालाई थप रोचक बनाएको छ।

सृष्टि घिमिरेको निर्देशन तथा कोरियोग्राफी, देवराज आचार्यको छायांकन र मनोज कार्कीको सम्पादन, कलर ग्रेडिङ तथा ग्राफिक्स रहेको भिडियोले तीजको मौलिकता, महिला उत्सव र सांस्कृतिक पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ।