ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ फागुन
यही ९ फागुन शुक्रवारबाट महाशिवरात्रिको छेका पारेर नयाँ नेपाली चलचित्र ‘ताण्डवम्’ चलचित्र घरमा आउँदै छ । थ्रिलर र क्राईम् जनरामा तयार पारिएको जुनिम गहतराज निर्देशित यो चलचित्रले एक नव विवाहित जोडीको कथा उठाएको छ । चलचित्र महादेव र सतीदेवीको प्रेम अवधारणामा रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा दम्पतीको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावलाई देखाइएको छ ।
सिनेमाका मुख्य कलाकार मध्यका एक अंकित खड्काले ‘ताण्डवम्’ सबैलाई मन पर्ने सिनेमा बनेको बताए । उनले सिनेमा ‘ताण्डवम्’को कथावस्तु र क्यारेक्टर मन परेर नै आफूले काम गर्न राजी भएको बताउँछन् । ‘सिनेमाको कथावस्तु लगायतका कुराहरू मन परेर नै काम गरेको हुँ । ‘ताण्डवम्’ सबैलाई मन पर्ने सिनेमा बनेको छ ।
यसमा मेरो क्यारेक्टरको नाम ‘घैँटे’हो । जसले आमाको माया त्यति राम्रोसँग पाएको हुँदैन । उसमा आमाप्रतिको सोच फरक छ । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ ?, उसको व्यवहार कस्तो हुन्छ ?, उसले कस्ता कुराहरू बोकेर हिँड्छ ?, उसलाई चाहिँ आमाजस्तो देखिनेहरूसँग किन समस्या छ ? आमाको महत्वमा पनि सिनेमाको कथा बगेको छ,’ उनले भने ।
अंकितले सिनेमाको यो क्यारेक्टर निर्वाह गर्दा आफूलाई निकै गाह्रो समेत भएको अनुभव सुनाए । यो सिनेमाको सुटिङकै बेला नै आमाको निधन भएकाले पनि आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै संघर्ष गर्नु परेको उनको अनुभव छ ।
‘मलाई धरै नै गाह्रो भयो । फिल्म सुटिङकै बेला मेरो आमा पनि बित्नु भएको थियो । आमालाई गाली गर्नुपर्ने छ, आमा शब्दलाई निकालेर कसरी गाली गर्ने ? आमा शब्दलाई गाली गर्नै मन थिएन । आमा भन्ने शब्द एउटा पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने? तर मेरो क्यारेक्टर नै आमालाई गाली गर्ने थियो यसमा अलि मलाई असहज त लागेको थियो ।’
कलाकारको सबै क्यारेक्टरमा काम गर्नु नै धर्म भएकाले म यो क्यारेक्टर गर्छु त्यो गर्दिन भन्न नहुने उनको बुझाई छ । सिनेमामा सबै नयाँ टिमको काम नै दर्शकले स्मरण गर्ने खालको छ । उनले नयाँ टिमसँग काम गर्न पाउँदा नयाँ जोस चल्नुका साथै नयाँ कुरा सिक्न र नजिक हुन पाइने भएकाले त्यो नै आफ्नो लागि राम्रो पक्ष हुने बताए ।
‘कलाकारको सबै क्यारेक्टरमा काम गर्नु नै धर्म हो । प्रत्येक सिनेमाहरूमा केही न केही नयाँ हुन्छ । यो सिनेमामा पनि दर्शकले स्मरण गर्ने धेरै चिजहरू छन् । नयाँ टिमसँग काम गर्न पाउँदा धेरै त्यस्ता सम्झिने पलहरू छन् । निर्देशक नयाँ हुनुहुन्छ, दुई चार जना बाहेक सबै नयाँ छन् । नयाँ जोस जाँगरका साथ सिनेमा तयार भएको छ । सिनेमा लभ स्टोरी, एक्सन थ्री लर हो, साथीको कथा र माया प्रेम पनि यसमा छ,’ उनले भने,‘लोकल ठाउँको लोकल र मध्यम वर्गीय परिवारको कथा यसमा छ ।’