ब्युटी न्युज नेपाल
काठमाडौं, ११ मँसिर
चलचित्र ‘ऊनको स्वीटर’को आगामी २६ बैशाख २०८२ मा रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको रिलिज मितिसँगै अफिसियल पोस्टर सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक गरिएको पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना लिसारा मगर समेटिएका छन् । पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ । ’ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ ।
यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।
नवीन चौहानले निर्देशन गरेको ’ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई निर्देशक चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् । चलचित्रको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।
यसअघि यस चलचित्रको ओएसटी गीत ‘फूल’ बहु चर्चित भइसकेको छ । छायाङ्कन जानुअघि लिरिकल स्टाइलमा सार्वजनिक गरिएको गीतलाई हालसम्म १ करोड ४० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । चलचित्रका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन् । चलचित्रमा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन् । गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि.क.को स्वर रहेको छ । कोरियोग्राफी रोशन बि.क. र डिप गुरुङले गरेका छन् । चलचित्रको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् ।
चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह–निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् ।
चलचित्रको कला निर्देशन विशाल न्यौपानेको टिमले सम्हालेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन् । सोसल मिडिया व्यवस्थापनमा प्रकाश क्षेत्री, विवेक खकुरेल, र ज्ञानु सङ्गम खड्का रहेका छन् । यस चलचित्रको वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।