ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक
नेपाली कथानक चलचित्र ’फिरफिरे फिरिरी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी गरिएको यो चलचित्रको रिलिज अब माघमा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ रहेको ब्यहोरा निर्माण टिमले प्रेस विज्ञप्ति मार्फत गराएको छ । चलचित्रको नयाँ प्रदर्शन मिति २०८१ माघ ४ गतेलाई तय गरिएको छ ।
विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित यो चलचित्र नविन भट्टको निर्देशनमा तयार हुँदैछ । चलचित्रमा सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् ।
नितिश पुन सह–निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।
हरर कमेडी जनराको चलचित्रको निर्माता मनोज कुमार अधिकारी हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए ।