अग्निदहनको नयाँ गीत दाई दाई नभन…


ब्युृटी न्युज नेपाल
काठमाडौं, ११ कात्तिक

नेपाली चलचित्र ‘अग्निदहन’को नयाँ गीत ’दाइ दाइ नभन मलाई…’को भिडियो सार्वजनिक भएको छ । यो चलचित्र बोक्सी जस्तो कुप्रथाले निम्त्याएको समस्यामा निर्माण गरिएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको रचना रहेको छ ।

धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्य लगायत रहेका छन् ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक यो चलचित्र आगामी मंसिर ७ गते रिलिज हुँदैछ ।

फिल्मको मुख्य भूमिकामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

फिल्ममा घनश्याम लामिछानेको निर्देशन छ । निर्देशक लामिछाने एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताउँछन्,‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं ।

फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनी भन्छन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ ।

फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताएका छन् । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्षसमेत रहेका कोविदचरण उपाध्ययले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताए ।