चलचित्र फिरफिरे फिरिरीको डरलाग्दो ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ कात्तिक

नेपाली चलचित्र ’फिरफिरे फिरिरी’ को ट्रेलर बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । यो चलचित्रलाई अभिनेता मनोज अधिकारीले निर्माण गरेका हुन् । यो चलचित्र हरर–कमेडी जनरामा निर्माण गरिएको छ । छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट यो चलचित्रलाई चलचित्रघरमा प्रदर्शन गरिने भएको छ । आफ्नो चलचित्रले दर्शकलाई हँसाउने र तर्साउने दुवै उद्देश्य बोकेको अभिनेता मनोजले बताएका छन् ।

नविन भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा मनोज कुमार अधिकारीसँगे रविना केसी, पिटर प्रिन्स, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थीलगायतको अभिनय छ । यो चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् ।

२ मिनेट ४२ सेकेण्ड लम्बाईको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ ।

मनोज कुमार अधिकारी फिल्मका निर्माता हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए । नितिश पुन सह–निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ ।