छक्का पञ्जा ५ को ट्रेलर, एक घन्टामै लाख भ्युज


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असोज

यही २४ असोजबाट देशव्यापी रिलिज हुने भनिएको चलचित्र ‘छक्कापञ्जा ५’को ट्रेलर शनिबार ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ । रिलिज भएको ट्रेलरले एक घन्टामा युट्युवमा एक लाख भ्युज पाएको छ । भिडियो १२ घन्टामै युट्युव ट्रेन्डिङमा आउने देखिन्छ ।

ट्रेलरलाई करिब ७० प्रतिसतले प्रसँसा गरेका छन भने ३० प्रतिसतले टिप्पणी गरेका छन् । ट्रेलर हेरेर चलचित्रको कथा कमजोर भएको एकथरीको टिप्पणी रहेको छ ।

यद्यपी टिप्पणी गरिएको जस्तो कमजोर नै चैं ट्रेलर छैन् । यसपटक यो चलचित्रमा मुलुकमा विधमान भ्रष्टाचारलाई चिरफार गरेको ट्रेलरले जनाउँछ । बिगतका सृँखलामा झैं यसपटक पनि राजा (दीपकराज गिरी) एन्टिहिरो नै बनेका छन् । तर उनी भ्रष्टाचारीहरुका लागि एन्टि र आम नागरिकका लागि हिरो बनेको यसको ट्रेलरले दर्शाउँछ । तथापि बास्तविक कथा भने चलचित्र हेरेपछि मात्र थाहा हुने छ ।

करिब चार मिनटको ट्रेलरमा हाँसो, रोदन, आक्रोस, द्धन्द्धजस्ता विविध भावको आरोह अवारोह देखिन्छ । यसपटक धनी देखिएका माग्ने बुढा र घुस बिरुद्ध राष्ट्रसेवक बनेर उत्रिएका राजाले ट्रेलर धानेका छन् । बाँकी सहयोगी पात्र बनेका छन् ।

यद्यपि छक्का पञ्जा ४ भन्दा छक्का पञ्जा ५ धेरै प्रभावशाली हुनेसक्ने अनुमान गर्न सकिन्छ । किनकी चौथो सृँखलाको भन्दा यो पाँचौं सृँखलाको बिषयबस्तु निकै प्रभावशाली भएको अनुमान गर्न सकिन्छ । तेश्रो सृँखला पछि यसपटक फेरी दीपाश्री निरौलाले यो सृँखलालाई निर्देशन गरेकी छिन् । ट्रेलरमा चलचित्रका शिर्षपात्र दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, दीपाश्री निरौला, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकीलगायतलाई समेटिएको छ ।

दीपक दीपाले निर्माण गरेको यो चलचित्रमा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा यो चलचित्र निर्माण गरिएको हो । चलचित्रको युरोप, अमेरिका, अष्ट्रेलियामा पनि अग्रिम टिकेट खुला गरिसकिएको छ ।