ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असोज
बडा दशैं २०८१को अबसर पारेर यही असोज २४ गते फूलपातीको दिनबाट नेपाली चलचित्र ‘ज्वाइँ साब’ देशव्यापी रिलिज हुँदैछ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा यसको ट्रेलर बिहिबार सार्वजनिक गरिएको छ । दुई मिनेट ५६ सेकेण्डको ट्रेलरलाई ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । जसमा हाँसो र रोदन दुबै समेटिएको छ ।
ट्रेलरमा सबैभन्दा रमाईलो पक्ष नायिका नीतिसँग विवाह गर्न केटाहरुबीच विभिन्न प्रतिस्पर्धा देखाईएको छ । यो नविनतम पक्ष हो । जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन् । यसमा अभिनेता जितु नेपाल सफल देखिएका छन् ।
त्यसो त यो चलचित्रको ट्रेलर फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ । आफ्नो विवाह नगरिदिएर बुवाले आफैं बिहे गरेपछि रिसाएका जितुको विवाह गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ । चलचित्रमा गोवर्धनको रुपमा जितुको पौढ अबस्था समेटिएको भए पनि त्यो बारे ट्रेलरमा उल्लेख छैन । यसमा जितु दोहोरो भूमिकामा छन की भन्ने अनुमान पनि गर्न सकिन्छ ।
समग्रमा निकै रोचक यो ट्रेलरमा फिल्मका कलाकारहरु जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।
फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको यो चलचित्र रेड आइ फिल्मस्को व्यानरमा निर्माण भएको छ । समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।