ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को छायाँकन सुरु भएको छ । बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको यो चलचित्रको शुक्रबारबाट छायाँकन सुरु भएको हो ।
चलचित्रमा राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको अहिले काठमाडौंमा छायाँकन भईरहेको छ ।
निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउदै भने, ’यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो।’
निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकोले आफु यो फिल्मको निर्माणमा जोडीएको बताए । त्यस्तै अभिनेता हमालले यो फिल्मको स्टोरी आफुले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुन ः फिल्ममा फर्किएको बताए । उनी आठवर्ष पछि यो चलचित्र मार्फत अभिनयमा फर्किएका हुन् ।
आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो चलचित्रका अन्य कलाकारमा सरोज खनाल, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी, प्रकाश कुँवरलगायतका छन् ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।