‘एक्टर’को छायांकन सकियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ साउन

चलचित्र एक्टरको छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको थियो । यसको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो ।

पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । ’समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ,’ निर्माता भण्डारीले भने ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको यो चलचित्रमा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ’पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

यो फिल्म यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने छ । फिल्मको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।