भाईरलको पछि नलाग्न महिला कलाकारको आग्रह


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

काठमाडौंमा जारी १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिबलमा शनिबारको बहस कार्यक्रममा मिडियामा महिला कलाकारको स्थान बिषयमा छलफल गरियो । शुक्रबारबाट काठमाडौंको सुन्धारा स्थित सिडिसी सिनेमा, सिटिसी मलमा फेस्टिबल सुरु भएको छ । महोत्सबमा पहिलो र दोश्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ ।

यसै क्रममा महोत्सबको दोश्रो दिन शनिबार विभिन्न चलचित्रहरुको प्रदर्शन संगै बहस कार्यक्रम आयोजना गरिएको हो । छलफल चलचित्र पत्रकार संघ नेपालका महासचीव रघुनाथ सापकोटाले सहजीकरण गरेका थिए । बहसमा अभिनेत्री गौरी मल्ल, कलाकार सरिता लामिछाने, गायिका निशा देसार, संचारकर्मी तथा निर्देशक संगीता श्रेष्ठ सहभागी थिए । बहसमा महिला कलाकारहरुले मिडिया पाउने स्थान र मिडियाले बनाउने गसिपहरुको बारेमा चर्चा गरियो ।

कार्यक्रममा बाल्दै अभिनेत्री गौरी मल्लले आफुले सुरु सुरुमा काम गर्दा पत्रपत्रिकामा आएका समाचारले छुट्टै प्रभाव पर्ने गरेको स्मरण सुनाईन् । पहिलाको जस्तो मिडियाको महत्व र प्रभाव आजकाल कम भएको उनको कथन थियो,‘पहिलेको मिडिया र अहिले डिजिटलमा प्रबेश गरे पछि धेरै फरक भएको छ । यसको फाईदासँगै बेफाईदा पनि छन् ।’

कार्यक्रममा बोल्दै कलाकार सरिता लामिछानेले पहिले र अहिलेको मिडिया र कभरेज फरक परेको र अहिले भाइरलको पछि सबै लागेको र भाइरलले दिगो रुपमा कसैलाई फाइदा नपुग्ने बताइन् । भाइरल भन्दा यो क्षेत्रमा निरन्तर काम गरिरहेका कलाकारलाई मिडियाले स्थान दिनुपर्ने उनको सुझाब थियो ।

संचारकर्मी तथा निर्देशक संगीता श्रेष्ठले आफुले मिडियामा काम गर्दै गर्दा आफुले चाहे अनुरुप कलाकार लाई स्थान दिन नपाइने र मिडियाको नीति अनुसार चल्नु पर्ने बताइन् । मिडियाले पनि पछिल्लो समय आफ्नो दायित्व विर्सन थालेको उनको कथन थियो ।

गायिका निशा देशारले मिडियाको प्रभाव निकै राम्रो हुने गरेको स्मरण सुनाईन् । आफुले दुई दशक अघि रेडियोमा उत्कृष्ट गायिकाको पुरस्कार जितेपछि आएको समाचारको आधारमा आफुलाई धेरैले बोलाएर गीत गाउने अबसर दिएको उनले सुनाए । सो बहस कार्यक्रममा नेपाली कलाकार र मिडियाको बिषयमा यस्तो किसिमको बहस निरन्तर हुनु पर्नेमा सबैले जोड दिए ।

हिजो शुक्रबार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै यो महोत्सब शुरु भएको हो । महोत्सबको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सबको बुकलेट बिमोचनबाट गरेका थिए । उद्घाटन समारोहमा महोत्सब समारोहमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मान समेत गरियो ।