आई एम एक्टरको छायाँकनका लागि नेपाल आए राजबल्लभ


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ

लामो समयपछि अभिनेता राजबल्लभ कोईराला नेपाली चलचित्र ‘आई एम एक्टर’मा प्रस्तुत हुने भएका छन् । यो चलचित्रको यतिबेला पोखरामा छायाँकन भईरहेको छ । चलचित्रको छायाँकनका लागि उनी अमेरिकाबाट आईतबार नेपाल आईपुगेका छन् । उनलाई यो चलचित्रको बाँकी कलाकारसहितको युनिटले काठमाडौंमा स्वागत गरेका छन् ।

पछिल्लो पटक उनको एक दशक अघि ऋतु र हाई वे टु धम्पुस चलचित्र रिलिज भएको थियो । यी दुबै चलचित्र २०७१ मा रिलिज भएका थिए । त्यसपछि विभिन्न चलचित्रमा प्रस्ताव आए पनि उनी कार्यव्यस्ताका कारण चलचित्रमा अनुबन्धित भएनन् । चलचित्र एक्टरमा ससक्त भूमिका भएका कारण यसमा आफुले काम गर्न लागेको यी अभिनेताले बताएका छन् ।

चलचित्रमा आफ्नो भूमिकाबारे उनले खुलाएका छैनन् । भूमिका राम्रो र फरक भएको जिकिर राजबल्लभले गरेका छन् ।

यो चलचित्रलाई एक्टरको रुपमा प्रचार गरिए पनि गत वर्ष चलचित्र विकाश बोर्डमा एक्टर नामको अर्को चलचित्र दर्ता भएका कारण यो चलचित्रलाई ‘आई एम एक्टर’को रुपमा अनुमति दिईएको बोर्डका एक कर्मचारीले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् ।

यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोईरालासहितका कलाकारको मुख्य भूमिका रहेको छ । राजन भुसालको निर्देशन रहेको यो चलचित्रलाई थमन कुमार भण्डारीले निर्माण गरिरहेका छन् ।