गाउँ आएको बाटोमा राई माईलाले गाउँ छाडेको व्याथा


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

चलचित्र ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति नजिकिँदै छ । यो चलचित्र यही २५ जेठबाट रिलिज हुँदैछ । गाउँमा सडर र यातायात आएपछि त्यसले निम्त्याउने विकाशसँगै विनासको कथा समेटिएको यो चलचित्रलाई निर्देशक नवीन सुब्बाले निर्देशन गरेका हुन् ।

यसै क्रममा यो चलचित्रको पहिलो गीत ‘राई माईला…’ को भिडियो यतिबेला सार्वजनिक गरिएको छ । यो गीत श्रवण मुकारुङले लेखेका हुन् । गीतमा चलचित्रको मुख्य पात्र राई माईला (दयाहाङ राई) र उनकी पत्नी (पशुपति राई)को सँघर्ष र छोरामाथि उनीहरुको सपनाको कथा समेटिएको छ । गीतलाई काली प्रसाद बास्कोटाले संगीत गरेका हुन् । जसमा सुनिता थेगिमको स्वर रहेको छ । गीत मार्मिक छ भने भिडियोले पनि पात्रको मर्मलाई समेटेको छ ।

यो चलचित्रले विश्वका २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका निर्देशक नविन सुब्बाको यो तेस्रो सिनेमा हो । यो चलचित्रको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

यो चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।