ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ चैत
चलचित्र ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जानकारी दिएको छ ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भागको रुपमा महाजात्रा निर्माण गरेको हो । निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममार्फत दिईएको मनोरञ्जन र संदेशलाई दर्शकले रुचाउनु भएको बताए । ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ, उहाँहरूले हामी प्रति गरिरहनुभएको विश्वास घटेको छैन । यो हाम्रो सबै भन्दा ठुलो उपलब्धी हो’, निर्देशक भट्टराईले भने । उनले हलमा फिल्म हेरेर निस्किदा दर्शकमा देखिएको खुसीलाई आफ्नो समूहको ठूलो सफलताको रुपमा लिएका छन् ।
चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।
दर्शक प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई दर्शकले रुचाउनु भएको बताए ।
चलचित्र महाजात्रामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।