ब्युटी न्युज नेपाल
काठमाडौं, ११ फागुन
हालै मात्र चलचित्र ऐंचो पैंचो दर्शकमाझ ल्याएकी निर्देशक कृषा चौलागाईंले यतिबेला अर्को नयाँ चलचित्र ‘पिताम्बर’को काम सुरु गरेकी छिन् । कृषा चौलागाईको निर्माण समेत रहेको यो चलचित्रको पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्तसँगै सुरु गरिएको छ । सिनेमाका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिइन् । सिनेमाको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईले बताइन् ।
गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा सहित निर्माण घोषणा गरिएको थियो । आज फागुन ११ गतेबाट पहिलो चरण अन्तर्गतको १५ दिने सेड्युलको निरन्तर छायांकन थालिएको हो ।
मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल सिनेमामो दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् । प्रदीप अहिले पुजार सार्कीको छायाँकनमा र सौगात नयाँ चलचित्र अगस्तेको प्रचार प्रसारमा व्यस्त छन् । त्यसैले यो चलचित्रको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ ।
पिताम्बरमा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले सिनेमा केही फरक र स्पेशल बन्ने देखिन्छ ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । सिनेमाको तीन चरणमा छायांकन हुनेछ । यसपछि सिनेमाको बाँकी छायांकन बैशाख र असार–साउनमा हुनेछ ।
सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी सिनेमाको दोस्रो चरणको छायांकनमा जोडिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् ।